काठमाडौ । रामेछामको लिखु तामाकोसी गाउँपालिका–४ का रामहरि दाहाल यतिखेर कतार जानका लागि तयारी अवस्थामा छन् । यसअघि उहाँ तीन वर्ष कतार बसेर आएका हुन् । कोरोना भाइरसका कारण सिर्जना भएको दोस्रो बन्दाबन्दी (निषेधाज्ञा) अघि उनी काठमाडौ आएका थिए ।
निषेधाज्ञापछि उनी कतार जान पाएका छैनन् । दुई महिनाका लागि बिदामा आएका दाहाल अहिलेसम्म नेपालमै छन्। कतारमा काम गरिरहेको संस्थाले कोरोनाविरुद्धको खोप लगाएर मात्र आउन भनेपछि उनी अहिलेसम्मै नेपालमै रहने अवस्था सिर्जना भएको हो । अमेरिकाले कोरोनाविरुद्धको जोन्सन एन्ड जोन्सन खोप नेपालमा पठाएपछि सरकारले विदेश जाने कामदारका लागि भिसा भएकालाई पनि खोप लगायो ।
उनले वीर अस्पतालमा छ घण्टा लाइनमा बसेपछि बल्लतल्ल खोप लगाए तर पनि उनी कतार जान पाएका छैनन् । खोप लगाएको प्रमाणका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बिहान ९ बजे खोप प्रमाणीकरणका लागि पुगे । उनले बेलुकी ४ बजे मात्र खोप प्रमाणीकरणको प्रमाणपत्र पाए । दुई दिन यही काममा अलमलिएका दाहालले अब भने सहजै कतार पुगेर आफ्नो कामलाई निरन्तरता दिनेछन् ।
यस्तै खोटाङ चर्खौले घर भई हाल स्वयम्भू बस्दै आएका नवराज सुवेदी पनि दुई वर्ष विदेशमा काम गरेर नेपाल फर्किएका थिए । डेढ महिनाको बिदा लिएर नेपाल आएका सुवेदीको समस्या त्यही हो । नेपाल आउनेबित्तिकै कोरोना बढेकाले यतिखेर उनी नेपालमै छन् । जोन्सन एन्ड जोन्सनको खोप लगाएका उनले अब भने विदेश उड्न पाउनेछन् ।
यसअघि टेकु अस्पतालमा खोप प्रमाणीकरणका लागि हजारौँको लाइन हुने गरेको थियो । अहिले सरकारले खोप प्रमाणीकरणका लागि टेकुसहित चार अस्पताललाई तोकेको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS