सिरहा । अमरलाल यादवले चार वर्षअघिसम्म आफ्नै खेतको उब्जनीले घरपरिवारको गुजारा चलाउँथे । लहान नगरपालिका-२३ तिलबोना गाउँका यादवलाई अहिले परिवार पाल्न धौं–धौं परिरहेको छ । यसको एउटै कारण हो, बलान नदीको फेरिएको धार । तीन वर्षको अन्तरालमा उनको २ बिघा खेतीयोग्य जग्गा बलान नदीले निल्यो । उनको लालपुर्जा हातमा छ, जग्गा खोलाको बगरमा परिणत भएको छ ।
सोही गाउँका महेन्द्र यादवको अवस्था पनि उनी भन्दा फरक छैन । उनको १ बिघा जग्गा नदीमा परिणत भएको छ । लालपुर्जा छ । जग्गा छैन । फुलचन यादवको १० कठ्ठा जग्गा नदीले बगर बनाएको छ । बलान नदी खेतीयोग्य जमिन निल्न थालेपछि यहाँका किसान मारमा परेका छन् । लहान नगरपालिका–२३ का करैया, तिलबोना, सखुवानन्कारकटी गाउँपालिका–४ का सिमराहा र भगवानपुर गाउँपालिकाका केही गाउँ अन्न उत्पादनका हिसाबले उम्दा थिए । घनाबस्ती रहेको यी गाउँका लागि बरदान मानिने नदी पछिल्लो समय काल बनेर कहर मच्चाउन थालेपछि खाद्य संकटको त्रास पनि बढेको स्थानीय राजु यादवले बताए ।
‘विगतमा धान, मसुरो, बदाम र गहुँको बाला झुल्ने खेत अहिले नदीमा मिसिएको छ,’ उनले भने, ‘यो नदीले हामीलाई बेहाल बनाइदियो ।’ पहिले–पहिले गाउँको उत्तरपूर्वबाट आएको पानी बगेर दक्षिणतर्फ जान्थ्यो । छिपछिपे बग्ने खहरेमा सहजै आउजाउ गर्थे यहाँका मानिस । ‘तर, २०४६ ताका बलान अचानक पश्चिमतर्फ सोझिएर खेत डुबायो । नदीले गाउँतर्फ कटान गर्न रोकेन । पाँच वर्षपछि फेरि बलानले सैयौं बिघा खेत डुबायो,’ तिलबोनाका अमरलाल यादवले भने, ‘डुबान र कटानबाट खेतलाई जोगाउन हामीसँग कुनै उपाय भएन । प्रशासनदेखि नेता सबैलाई गुहार्दा पनि रोकथाम र नियन्त्रणको कार्य हुन सक्दा वर्षैपिच्छे यहाँको खेत नदीले निल्दैछ ।’ यसवर्ष मात्रै १० विघा भन्दा बढी जग्गा नदीमा मिसिएको उनले सुनाए ।
बलान नदीमा झिझिर खोला मिसिएर थुप्रै धार बनाएको छ । पछिल्लो पटक आएको बाढीले नदीको पश्चिमी किनार कटान सुरु गरेको छ । चुरे मूल भएको बलान नदी त्यत्तिकै विनाशकारी बनेको होइन । चुरेको अनियन्त्रित दोहनका कारण नदीले धार परिवर्तन गरेको यस क्षेत्रका स्थानीय बताउँछन् ।
बलान नदीले पछिल्लो समय धार परिवर्तन गरी पश्चिमतर्फ हानिँदा भगवानपुर गाउँपालिकाका १ र ४, सखुवानन्कारकट्टीका ५ र ४, लहान नगरपालिकाका–२३ जोखिममा परेका छन् । एक साताअघि बलान नदीको बाढीले यी वडाहरूको कैयौं बिघा खेतीयोग्य जमिन कटान गरेको स्थानीयको अनुमान छ ।
गत वर्ष तिलबोना गाउँ नजिकै बलान नदीमा तटबन्ध निर्माण गरिएको थियो । स्थानीयका अनुसार काम गुणस्तरहीन हुन थालेपछि उनीहरूले रोकेका थिए । ‘पछि नेताहरूले मिलाएर काम गर्यो तर, ठोस काम भएन। यही वर्षको पानीले उक्त तटबन्ध बगायो र जग्गा कटान गर्यो,’ स्थानीय महेन्द्र यादवले भने, ‘काम गर्ने पैसा खायो । दुःख हामीले भोग्दैछौं । हामीलाई सरकारसँग ठूलो माग छैन । तटबन्ध गरेर खेती योग्य जग्गा बचाइदियोस् ।
हामी यही जग्गामा अन्न उब्जाएर गुजारा गर्छौं ।’ यो ठाउँमा गत वर्ष प्रदेश २ का तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल तामझासहित निरीक्षण गर्न आएका थिए । तर, भाषणमा भनेअनुसार कुनै तटबन्ध निर्माण गर्ने योजना नआएको स्थानीयले सुनाए। शनिबार फेरि त्यही ठाउँमा नयाँ भौतिक पूर्वाधार तथा योजनामन्त्री रामसरोज यादव दलबलसहित निरीक्षणमा पुगेको आजको अन्नपूूर्ण पोष्ट दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS