काठमाडौं । एनआईसी एशिया बैंकले नेपालको बैंकिङ्ग क्षेत्रमै पहिलोपटक मोबाइल बैंकिङ एपमार्फत विभिन्न कम्पनीहरूले जारी गर्ने साधारण शेयर (आईपीओ)मा आवेदन दिन सकिने सेवाको शुभारम्भ गरेको छ ।
एनआईसी एशिया बैंकमार्फत डिम्याट खाता खोलेका एवं बैंकमा बचत खाता तथा बैंकको मोबाइल बैंकिङ्ग सेवा लिएका ग्राहकले यो नवीन सेवा अनुसार आईपीओ खुलेका सेयर तथा डिबेन्चरहरूमा जुनसुकै स्थानबाट, जुनसुकै समयमा आवेदन दिन सकिने बैंकले जनाएको छ ।
कोभिड–१९ महामारीको जोखिम कायम रहेका बेला ग्राहकहरुलाई थप सहज एवम् सरल बैंकिङ्ग सेवा दिनका लागि बैंकले हालसम्म भौतिक फारमबाट आईपीओ आवेदन लिँदै आएकोमा अब देखि बैंकसम्म नपुगी एनआईसी एशिया मोबैंकबाट आईपीओ आवेदन दिन सकिने सुविधाको सुरुवात गरेको हो ।
कसरी भर्ने मोबाइल बैंकिङ एपबाटै आईपीओ ?
एनआईसी एसिया मो–बैंक एपका प्रयोगकर्ताले एपभित्र रहेको ‘एप्लाई शेयर’ आइकनमा ट्याप गरेर आवेदन दिन सकिने छन । एप्लाई शेयर आइकनमा ट्याप गरेपश्चात् त्यसभित्र आईपीओ खुलेका कम्पनीहरूमध्ये आफूले चाहेको कम्पनी छनौट गरेर आवेदन दिनुपर्ने छ । त्यसपछि आफूले इच्छाएको कित्ता संख्या उल्लेख गर्ने र सो बाहेकको स्वचालित रुपमा देखिएको विवरण पक्का गरी कम्पनीको शर्त तथा नियम पालना गरेर ‘सवमिट’ गरेपश्चात आवेदन पूरा हुने छ ।
ग्राहकले आफ्नो स्मार्टफोन प्रयोग गरी आईपीओ आवेदन दिन सक्ने हुँदा यस सुविधाबाट भौतिक रुपमा बैंकमा उपस्थित भई फारम भरेर आईपीओ आवेदन दिनुपर्ने झन्झबाट ग्राहकलाई मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ ।
FACEBOOK COMMENTS