काठमाडौं । बिरामीको चाप बढेर व्यवस्थापन गर्न समस्या भएका कारण ताप्लेजुङ अस्पताल नै कोभिड संक्रमणको स्रोत हुने खतरा बढेपछि बिरामी व्यवस्थापनमा अल्पकालिन र दीर्घकालिन योजना बनाउनुपर्ने निष्कर्ष निकालिएको छ ।
अस्पतालमा कोरोना संक्रमण र अन्य रोगका बिरामीको चाप ह्वात्तै बढेपछि व्यवस्थापनका विषयमा छलफल गर्न मंगलबार जिल्ला अस्पताल विकास समितिले आयोजना गरेको सरोकारवालाको छलफल अल्पकालिन र दीर्घकालिन समाधानको बाटो अख्तियार गनुपर्ने निचोडमा पुगेको हो ।
साँघुरो क्षेत्र, शैया तथा आइसोलेसनको अभाव खेपीरहेको ताप्लेजुङ अस्पतालले अस्पताल आसपास तत्कालै १५ शैयासम्मको आइसोलेसन कक्ष बनाउनुपर्ने प्रस्ताव राखेको छ। अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाले क्षमताभन्दा दोब्बर हाराहारी संख्यामा कोरोनाका बिरामी र यहि समयमा मौसमी रोगको संक्रमणबाट प्रभावित बिरामीको चापले अस्पताल भरिभराउ भएको जानकारी दिए ।
अस्पतालमा रहेको १० शैयाको कोभिड अस्पतालमा अहिले करिव दोब्बर संख्याका बिरामी भर्ना हुन आएपछि आफूहरुले अस्पतालको अन्य बिरामी कक्ष समेतको प्रयोग गर्दै आएको जानकारी दिए। कोरोना बाहेक अन्य बिरामीको उपचारका लागि प्रयोग हुने कक्ष समेतमा कोरोना संक्रमित बिरामी राखेर उपचार गरिरहनु परेको बताउँदै लामाले भने, ‘भौतिक दूरी कायम गरेपनि कोरोना संक्रमित र अन्य बिरामीलाइ एउटै कक्षमा राखेर उपचार गरिरहनु पर्दा कोरोना संक्रमणको स्रोत नै अस्पताल बन्ने जोखिम पनि रहन्छ ।’
यहिँ जोखिम हटाउने उपाय स्वरुप अस्पताल आसपास अस्थायी आइसोलेसन कक्ष बनाउने पहल सुरु भएको छ। जिल्ला समन्वय समितिका प्रमुख समेत रहेका ताप्लेजुङ जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष घनेन्द्र मादेनले अस्पताल परिसरमै रहेको औषधि भण्डारण कक्षलाई अस्थायी आइसोलेसन कक्षको रुपमा उपयोग गर्न सकिने गरी प्रारम्भिक सम्भाव्यता अध्ययन भएको जानकारी दिए ।
१५ शैयाको जिल्ला अस्पतालमा १० शैयाको आइसोलेसन कक्ष प्रयोगमा छ। गम्भीर प्रकृतिका बिरामीलाई अस्पतालको आइसोलेसनमा राख्ने र संक्रमित भइ अस्पतालको आइसोलेसनमा ९ देखि १० दिन रहेका कम जोखिम अवस्थाका बिरामीलाई अस्थायी आइसोलेसनमा राखेर व्यवस्थापन गर्ने प्रयोजनका लागि अस्पताल परिसरमै अस्थायी आइसोलेसन कक्ष स्थापनाको पहल थालिएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ।
फुङ्लिङ नगरपालिकाले यसअघि निर्माण गरेको आइसोलेन कक्ष (बाल सुधार गृह रहेको पुरानो भवन) चिकित्सकीय पहुँच भन्दा टाढा रहेकोले तत्कालका लागि अस्पताल आसपास नै आइसोलेसन कक्ष निर्माण गर्नुपर्ने निष्कर्ष रहेको अस्पतालका निमित्त मेसु लामाले बताए । अस्पतालको आइसोलेसन कक्षमा उपचाररत छोरोको रेखदेखमा खटिएका फुङ्लिङ नगरपालिका वडा नं ७ दोखुका कमलप्रसाद भट्टराईले अस्पातलमा कोरोनाका बिरामी थपिने क्रम नरोकिएको भन्दै १०–१५ शैयाको अस्थायी आइसोलेसन कक्षले बिरामीको चाप थेग्न सक्ने अवस्था नरहेको बताए। ‘निकै मजाले व्यवस्थापन गर्नेगरी सोच राखिएन भने कोरोना संक्रमितको भार अस्पतालले थेग्न सक्दैन’, भट्टराईले भने। पछिल्ला दिनहरूमा ताप्लेजुङको फुङ्लिङ नगर क्षेत्रमा कोरोना संक्रमित मोटो परिमाणले थपिँदै गएको आजको नागरिक दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS