काठमाडौं । नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्क चोङ सुकले अर्थमन्त्री जनार्दन शर्मासँग भेट गर्नुभएको छ । मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवाहरुलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गर्नुभयो । महामारीका कारण रोकिएको प्रक्रिया चाँडै अघि बढाउन सरकारको तर्फबाट हुनुपर्ने काम गरिने प्रतिवद्धता जनाउदै मन्त्री शर्माले कोरियाको तर्फबाट आवश्यक प्रक्रिया अघि बढाइदिन समेत आग्रह गर्नुभयो ।
‘इपिएस अन्तरगत कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेका हजारौं युवाहरु बेरोजगार बसेका छन् । यो समस्या चाँडै समाधान गरिनेछ भन्ने विश्वास लिएको छु’ मन्त्री शर्माले भन्नुभयो । जवाफमा राजदुत पार्कले रोकिएको इपिएसको काम अघि बढाउन आफूले पहल गर्ने बचन दिनुभयो । नेपालीहरुको मेहेनती र इमान्दारिताबाट कोरियाली रोजगारदाताहरु खुशी रहेको प्रसंग उल्लेख गर्दै उहाँले भाषा परीक्षा उत्तीर्ण गरी पालोमा बसेका श्रमिकहरुलाई काममा पठाउने प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो । मन्त्री शर्माले कोभिड–१९ विरुद्धको खोप पहिलो प्राथमिकता भएको भन्दै त्यसको लागि कोरियाली जनताको तर्फबाट आवश्यक सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । कोरियाले नेपालमा स्वास्थ्य, शिक्षा, जलविद्युत लगायतका क्षेत्रमा लगानी समेत गर्दै आइरहेको छ ।
कोरियाको लगानीमा भक्तपुरको ठिमी, नुवाकोट, धनगढी र मुगुमा सुविधासम्पन्न अस्पताल निर्माण गरेको छ भने महोत्तरीको बर्दिवासमा मोडेल पोलिकेक्निक कलेजको स्थापना हुँदैछ । उक्त कलेजले निर्माण क्षेत्रको दक्ष जनशक्ति उत्पादन गर्नेछ । भेटमा राजदुत पार्कले कोरियाली लगानी रहेको माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनाको काममा भइरहेको ढिलाई बारे चासो राख्नुभयो । आयोजनामा ढिलाई हुँदा लागत बढ्न जानेतर्फ चिन्ता रहेको उहाँले बताउनुभयो । मन्त्री शर्माले उक्त आयोजना सरकारको पनि प्राथमिकतामा रहेको र अब कामलाई गति दिनेतर्फ पहल गर्ने बताउनुभयो ।
FACEBOOK COMMENTS