भोजपुरको याकुबिर्तामा जन्मिएका हेमराज ढकाल नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारीणी सदस्य तथा महासंघकै स्वास्थ्य तथा शीप विकास समितिका सभापति हुन् । प्राथमिक शिक्षा भोजपुरमा, माध्यमिक तहसम्मको शिक्षा झापाको चन्द्रगढी, इन्टरमिडियट तहको अध्ययन काठमाडौं तथा अष्ट्रेलियाबाट ग्राजुएशन हासिल गरेका ढकाल हेरिटेज कार्पेट उद्योगका सञ्चालक एवम् प्रबन्ध निर्देशक हुन् ।
अष्ट्रेलियाबाट ग्राजुएशन हासिल गरिसकेपछि केही प्राक्टिकल काम गर्ने क्रममा ढकालले विश्वकै पहिलो डिक्सनेरी प्रकाशित गर्ने संस्था इन्साइक्लोपेडिया बिटानिका जापानमा जापानिज साथीहरूको कनेक्सनमा ९ महिना काम गरे ।
परिवारको पृष्ठभूमि र आफ्नो इच्छा सानैदेखि उद्योग–व्यवसाय गर्ने नै थियो । तर, विदेशमा पढिरहेका ढकालले विदेशको अनुभव हासिल गर्दै थप नयाँ कुराहरू सिक्न सकिने उद्देश्यअनुरूप इन्साइक्लोपेडियाको जागिर छोडेर जापानमै एउटा ट्रेडिङ कम्पनी खोलेर नेपालमा गाडीहरूको निर्यात गर्न थाले ।
सँगसँगै उनले ह्याण्डिक्राफ्ट, ट्र्याडिसनल पाराको वल्र्ड इंगलिस टाइपका होटेल सप्लाई र फेब्रिकहरू (पर्दा, तन्ना)को व्यापारमा ४ वर्षजति बिताए । त्यो बीचमा पनि उनी नेपाल आउने र फेरि जापान नै फर्किने गर्दै आएका थिए ।
त्यसै समयमा काठमाडौंको कलंकीमा मोटर ओभरअल टेस्ट गर्नका लागि ‘जापान अटो टेक्नो’ सञ्चालन गरे । गाडीको सेफ्टीका लागि आवश्यक प्याकेज नै ‘जापान अटो टेक्नो’मार्फत उनले ल्याए । तर, सरकारबाट अनुमति लिन गाह्रो परेका कारण त्यसमा उनी त्यति सफल हुन सकेनन् ।
त्यसपछि झापा फर्केर आफ्नो पैतृक सम्पत्तिमा अन्य जग्गाहरू थप गरेर चियाबगान शुरू गरे । सँगसँगै उनले काठमाडौंमा फर्निसिङसम्बन्धी नेपालकै पहिलो हेरिटेज ब्राण्डबाट रबराइज क्वायर म्याट्रेसको उत्पादन तथा विक्रीवितरण शुरू गरे । २–३ वर्षको अनुसन्धानपछि उनले नयाँ–नयाँ डिजाइन दिएर ननओभन फ्लोरिङ कार्पेट उद्योग सञ्चालनमा ल्याए । त्यसबेला नेपालमा दुई वटा कार्पेट उद्योगहरू मात्रै सञ्चालनमा रहेको उनी बताउँछन् ।
त्यसपछि कार्पेटसँगै चाहिने सप्लिमेन्ट प्रडक्टहरू पनि उनले सँगै उत्पादन तथा विक्री गर्न थाले र उनी अहिले फर्निसिङसम्बन्धी उद्योग सञ्चालन गर्ने पायनियर उद्योगीको रूपमा परिचित छन् । ७० करोड रूपैयाँ भन्दा बढी लगानीमा सञ्चालन भइरहेको हेरिटेज कार्पेट नेपालको म्याट्रेस र कार्पेट बजारको पायोनियर उद्योग हो ।
कम्पनीले अहिले ग्राफिक्स, जकार्ड, भेलोर, स्ट्राईप, १२ लाइन ड्रिब्स, रिब्डलगायत गरी विभिन्न प्रकारका कार्पेट उत्पादन गर्दै आएको छ । हेरिटेजका उत्पादन नेपालको ७७ जिल्लामा पुगेको ढकाल बताउँछन् ।
नेपालमै पहिलोपटक आधुनिक कम्प्युटराइज पद्धतिबाट कार्पेट उत्पादन शुरू गरेको कम्पनीले आफ्नो बजार विस्तार मात्र गरेन, आयातित कार्पेटको ४० प्रतिशत बजार हिस्सा नै विस्थापित गरिदिएको छ । ‘रिब्ड’ बाहेक नेपालमा सबै किसिमका कार्पेटको उत्पादन थालेकै हेरिटेज इण्डष्ट्रिजले नै हो । नेपालको विद्यमान कानून पालना गर्दै उद्योग चलाउने काम सजिलो नभएको उनी बताउँछन् । राष्ट्रियता र स्वभिमानसँग जोडेर उद्योग चलाईरहेका ढकालले श्रम र यातायातका क्षेत्रमा उद्योगले भोग्दै आएका समस्या समाधान गर्न सरकारसँग माग गर्दै आएका छन् ।
यसका साथै उनले ‘टि इन्डस्ट्रीज’ सञ्चालन गरिरहेका छन् । उनले चियाबगान ३० करोड रुपैयाँको लागतमा ‘ सञ्चालनमा ल्याएको छ ।
उद्योगीका अलावा उनी नेपाल उद्योग वाणिज्य महासंघका स्वास्थ्य तथा शीप विकास समितिका सभापति र बैंकर पनि हुन् । झापामा नै केही साथीहरूसँग मिलेर क्षेत्रीय बैंकका रूपमा एक्सेल डेभलपमेन्ट बैंक सञ्चालन गरिरहेका छन् । प्रदेश १ मा करिब ५० वटा शाखासञ्जाल भएको उक्त बैंक पूर्वको पायनियर बैंकका रूपमा समेत स्थापित छ । उनी उक्त बैंकका पूर्वध्यक्ष समेत हुन् ।
FACEBOOK COMMENTS