काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभावकर’ले नेपाल राष्ट्र बैंक स्वायत्त निकाय भएकाले आफूले सो स्वायत्त निकायको दायरा मिच्ने काम नगरेको बताएका छन् । नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति अथमन्त्रीले रोकेको समाचार सम्प्रेषण भइरहेका बेला उनले यस्तो स्पष्टीकरण दिएका हुन् ।
राष्ट्र बैंकलाई नै कस्तो नीति ल्याउने, कहिले ल्याउने र कसरी ल्याउने भन्ने निर्क्योल गर्न सुझाव दिएको भए पनि मौद्रिक नीति ल्याउन वा नल्याउन भनेर आफूले कहिल्यै नभनेको जिकिर मन्त्री शर्माले गरेका छन् । चालू आर्थिक वर्षको १४ दिन बितिसक्दा पनि केन्द्रीय बैंकले मौद्रिक नीति ल्याउन सकेको छैन । यस्तोमा अर्थमन्त्री शर्माले हस्तक्षेप गरेको चर्चा हुँदै आएको छ ।
शर्माले राष्ट्र बैंक स्वायत्त संस्था भएकाले कतिबेला मौद्रिक नीति ल्याउने भन्ने निर्णय पनि राष्ट्र बैंकले गर्ने प्रष्ट पारे । बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)का पदाधिकारीहरुसँगको भेटमा मन्त्री शर्माले भने, ‘मैले गभर्नर साबलाई फेरि ब्याजदर बढेर अन्य स्थितिबाट नागरिक वित्तीय सुविधाबाट बञ्चित नहुन् भनेको हुँ ।’
वातावरण हिजोभन्दा फरक नभएर अझ सहज बनाउने स्थिति सृजना गर्न आफूले निर्देश गरेको पनि मन्त्री शर्माले बताएका छन् । ‘आम नागरिकलाई अप्ठेरो हुनु भएन । यसबाहेक मैले केही सुझाव दिएको छैन । रोकेको त हुँदै होइन,’ शर्माले भने, ‘नेपाल राष्ट्र बैंक स्वायत्त संस्था हो । गभर्नरलाई मैले ‘तपाईं त्यसको प्रमुख हो, मेरो सुझाव यत्ति हो, कतिबेला के गर्ने कसरी गर्ने पनि तपाईंको जिम्मा भनेको छु ।’
ऋण पाउने पक्का भएकाहरूले ऋण नपाउने स्थिति नहोस्, कसरी हुन्छ सहज वातावरण बनाउने निर्देशन दिएको उनले दाबी गरे । अर्थ मन्त्रालयले मौद्रिक नीति रोकेर अर्थतन्त्रलाई नै अप्ठेरो पार्ने काम नगर्ने दाबी उनको छ ।

‘जनतालाई अप्ठेरो पार्ने गतिविधि तथा आर्थिक क्रियाकलापलाई अप्ठेरो हुने काम नहुने गरी जेजे लख्नुपर्ने हो लेख्नोस् भनेको छु,’ शर्माले थपे, ‘यसो भन्नु मेरो दायित्व हो ।’ मन्त्रालयमा हिजो र आजको वातारण फरक भएकाले परिवर्तित वातारणलाई सहज बनाइदिन माग आएको उनले स्वीकार गरेका छन् ।

शर्माले एकातिर कोरोना र अर्कातिर व्यवसाय, सर्वसाधारण र जनजीवन संकटमा रहेकाले यो सर्वव्यापी संकट समाधान समस्याप्रति सबै निकाय गम्भीर भएर लागेमात्र सम्भव हुने बताए । आफू नेतृत्वमा रहादा जानीजानी गल्ती नगर्ने बताउँदै उनले अञ्जानमा गलती भए सच्याउने सल्लाह दिन अनुरोध गरेका छन् ।

‘कुन कुर्सीमा बसेको छौं भन्नेले फरक पर्दैन । देश विकासको चिन्ता कसमा कति छ भन्ने कुराले फरक पार्छ,’ शर्माले भने, ‘मलाई धेरै चिन्ता छ । सो नाफा खाने चिन्ता हैन, चिन्ताकै लागि योगदान र बलिदान दिन तयार छु ।’
यो पनि पढ्नुहोस्–
अर्थमन्त्री शर्मा भन्छन्– श्वेतपत्र जारी गर्दा विगतको नेतृत्वलाई गाली गरेर मलाई हिरो बन्नु छैन