काठमाडौं । नेपाल फ्रेट फरवार्डर एसोसिएसन (नेफा)ले २७औं कार्गो दिवस मनाएको छ । कमलादीस्थित हुकुम दरबारमा गत बिहीबार एक विशेष कार्यक्रमको आयोजना गरी संस्थाले सो दिवस मनाएको हो ।
संघका संस्थापक अध्यक्ष रवीन्द्रमान सिंह प्रधानको अध्यक्षतामा आयोजित उक्त कार्यक्रम विद्यमान महामारीको अवस्थालाई दृष्टिगत गर्दै सरकारको आदेश पालना गरेर गरिएको थियो । प्रत्येक वर्ष जुलाइ २९ का दिन सम्बन्धित सरकारी निकाय, मन्त्रालय, विभाग, अन्तर्राष्ट्रिय लोजिष्टिक क्षेत्रका प्रतिनिधि, निजी व्यक्तित्वहरूलगायत सम्बन्धित स्टेक होल्डहरूको सभागितामा यो दिवस मनाइँदै आएको थियो ।
कार्यक्रममा उपस्थित महानुभावहरुलाई स्वागत गर्दै संघका अध्यक्ष मनोज अधिकारीले कार्गो कार्गो व्यवसायको व्यावसायिक क्षमता अभिवृद्धि र विश्वभर फैलिएको महामारीकोबीच नेपाली जजिष्टिक क्षेत्रलाई जोगाई रहन कार्गो व्यवसायी तथा एयरलाइन्सहरूबीच एक अर्काको साथ र सहयोग अपरिहार्य रहेको बताए ।
यसैगरी आफ्नो मन्तव्यमा संघका निवर्तमान अध्यक्ष प्रकाश सिंह कार्कीले कार्गो सेवा अभिवृद्धि गर्नका लागि संघ, एयरलाइन्स र रेल सेवाप्रदायकहरुबीच सुमधुर सम्बन्ध रहेको र कोरोनाका कारण धरासयी भएको कार्गो क्षेत्र चलायमान बनाउन तीनवटा क्षेत्रबीच हातेमाओ गर्नु जरुरी रहेको बताए ।
सो अवसरमा संघका संस्थापक अध्यक्ष रवीन्द्रमान सिंह प्रधानले समस्त कार्गो व्यवसायीमा कार्गो दिवसको शुभकामना व्यक्त गर्दै नेपाली कार्गो क्षेत्रको इतिहासको बारेमा जानकारी दिएका थिए ।
त्यस्तै नेपाली राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सका प्रबन्ध निर्देशक डिमप्रसाद पौडेलले आफ्नो मन्तव्यका क्रममा नेपाल एयरलाइन्सको अवस्था हाल कठिन मोडमा रहेको र यसलाई बलियो र प्रतिस्पर्धी बनाउनका लागि नेपाल एयरलाइन्सका व्यवस्थापनको तर्फबाट आवश्यक सुधारका कामहरु भइरहेको जानकारी दिए ।
कार्यक्रममा संघबाट प्रदान गर्दै आएको नेफा कार्ड, सदस्यतर्फ संघको सदस्य कम्पनी इमेज एयर एन्ड सी फ्रेट प्रालिका प्रबन्ध निर्देशक रुस्तम लाल श्रेष्ठलाई प्रदान गरिएको छ । विगत २८ वर्षदेखि कार्गो व्यवसायमा संलग्न रही व्यवसायको विकाश एवं विस्तारका निम्ति निरन्तर रुपमा लागिरहेका र नेफा कार्यसमिति तथा विभिन्न उपसमितिमा रही कार्गो क्षेत्रको प्रवर्द्धनमा निरन्तर योगदान दिएकाले उनलाई सो अवार्ड दिइएको संघले जनाएको छ ।
कार्यक्रममा हाइयस्ट कार्गो अपलिफ्ट अवार्ड २०२१ कतार एयरवेज, नेपाल एयरलाइन्स कर्पोरेशन र क्याची प्यासिफिक कार्गोलाई क्रमशः पहिलो, दोस्रो र तेस्रो गरी प्रदान गरिएको छ । त्यस्तै अफलाइन एयरलाइन्सतर्फ ओमन एयर कार्गोलाई प्रथम पुरस्कार प्रदान गरिएको पनि संघले जनाएको छ ।
FACEBOOK COMMENTS