नुवाकोट । नुवाकोटकी क्रियाशील पत्रकार शक्तिमाया तामाङ यस वर्षको कृष्णमाया लिलानाथ स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएकी छिन् । विद्यमान कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि जनचेतनामूलक समाचारहरु सङ्कलन र सम्प्रेषण गरेबापत उनलाई सो पुरस्कार प्रदान गरिएको हो ।
शुक्रबार नुवाकोट सदरमुकाम विदुरमा आयोजित उत्तरगया दैनिकको चौथो वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा उनलाई सो पुरस्कारद्वारा सम्मान गरिएको हो । पत्रिकाका प्रकाशक एवं नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष शिव देबकोटाले आफ्ना स्वर्गीय मातापिताको नाममा स्थापना गरेको उक्त पुरस्कार तामाङलाई प्रदान गरिएको हो ।
त्यसक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पत्रकार तामाङलाई नगद २५ हजार रुपैयाँसहित सम्मानपत्रद्वारा सम्मान गरे । विगत आठ वर्षदेखि नुवाकोटको पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार तामाङ बीबीसी नेपाली सेवाको नुवाकोट सम्वाददाता हुन् ।
कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य केसीले सत्ताको भन्दा सत्यको महत्वबोध गर्ने र समाजका विकृति र विसंगतीहरुको अन्त्यका लागि निरन्तर खबरदारी गर्ने भएकै कारण सञ्चार क्षेत्रलाई राज्यको चौथो अंग मानिएको उल्लेख गर्दै सत्य, तथ्य र निष्पक्ष पत्रकारिताले मुलुकमा समृद्धिको आधारशीला तयार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । नेपाली काँग्रेस सदैब प्रेस स्वतन्त्रताको पक्षपाती रहेको बताउँदै उनले स्वतन्त्रताको नाममा देखिने स्वच्छन्दताले पार्न सक्ने नकारात्मक प्रभावका बारेमा सञ्चारकर्मीहरु निरन्तर चिन्तनशील हुनुपर्नेमा समेत जोड दिएका छन् ।
त्यसक्रममा संबिधानसभा सदस्य एवं नेपाली काँग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले सञ्चार क्षेत्रको बिकास र सञ्चारकर्मीहरुको हकहितका पक्षमा नेपाली काँगे्रस सदैब प्रतिबद्ध रहेको बताउँदै आग्रह र पूर्वाग्रहरहित पत्रकारिताबाट मात्र यस क्षेत्रप्रति सबैको अपनत्व रहने धारणा व्यक्त गरे ।
कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापा र बिदुर नगरपालिकाकी उपप्रमुख गीताकुमारी दहालले स्थानीय तहहरुको सुदृढीकरण र विकास निर्माणका कामहरुमा प्रभावकारिता वृद्धि गर्न सञ्चार क्षेत्रको सकारात्मक भूमिका अपेक्षित रहेको बताउँदै जिल्लाका सञ्चारमाध्यमहरुको प्रवर्द्धन र सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धिका लागि सहकार्य गरेर अघि बढ्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
FACEBOOK COMMENTS