धनगढी । निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर धनगढीले यहि साउन २४ गतेदेखि ३० गतेसम्म मिर्गौला तथा मुत्ररोगसम्बन्धी निःशुल्क चेकजाँच शिविर आयोजना गर्ने भएको छ । हस्पिटलले साउन १ गतेदेखि मिर्गौला तथा मुत्ररोगसम्बन्धी फुलटाईम सेवा डा. प्रज्ञान ख्वाउजुद्वारा शुरू गरेको थियो ।
मिर्गौला तथा मुत्ररोगसम्बन्धी दैनिक चेकजाँचका क्रममा मृगौला, मुत्रनली, मुत्रथैलीको पत्थरी तथा संक्रमण भएका र प्रोस्टेट ग्रन्थीको समस्या भएका बिरामीहरूको संख्या उल्लेख्य भेटिएको डा. प्रज्ञान ख्वाउजुले बताए ।
यस क्षेत्रमा पिउनका लागी प्रयोग हुने पानीको खराबीका कारण यससम्बन्धी रोग लाग्ने र बिरामीहरूको संख्या बढी भएको हुनसक्ने डा. प्रज्ञानको भनाइ छ । साउन २४ देखि ३० गतेसम्म आयोजना हुने शिविरमा मिर्गौला तथा मुत्ररोग शल्य चिकित्सक डा. प्रज्ञान ख्वाउँजूद्धारा चेकजाँच गरिने हस्पिटलले जनाएको छ ।
शिविरमा मिर्गौलाको संक्रमण र पत्थरी, पिसाबनलीको संक्रमण र पत्थरी, पिसाब थैलीको संक्रमण र पत्थरी तथा प्रोस्टेट ग्रन्थीको समस्या भएका बिरामीहरूलाई सम्पूर्ण उपचार तथा शल्यक्रिया सेवा दिइने हस्पिटलले जनाएको छ ।
चेकजाँच शिविरमा शल्यक्रिया तथा प्रयोगशाला परीक्षण गर्नु परेमा शल्यक्रिया शुल्कमा ३०% छूट र प्रयोगशाला परीक्षणमा २५% छूट दिने हस्पिटलले जनाएको छ । शिविर बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गरिने बताइएको छ ।
हाल हस्पिटलले फुलटाईम विशेषज्ञ सेवा अन्तर्गत जनरल मेडिसिन (पेट, मुटु, छाती) फिजिसियन सेवा, नवजात शिशु तथा बालरोग सेवा, स्त्री तथा प्रसुती सेवा, जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी सेवा, मानसिक तथा नसारोग सेवा, हाडजोर्नी तथा नसारोग सेवा, एनेस्थेसिया तथा क्रीटिकल सेवा, मुख अनुहार तथा बङ्गारा सम्बन्धि सेवा, न्युरो ट्रमा मस्तिष्क नसा तथा मेरुदण्ड सम्बन्धि सेवा, छाला सौर्न्दर्य तथा यौनरोग सेवा, नाक कान तथा घाँटी रोग सेवा, मिर्गौला तथा मुत्ररोग सेवा, रेडियोलोजी (भिडियो एक्स–रे, सिटी स्क्यान) सेवा लगायत आईसीयु, एनआईसीयु, भेन्टिलेटर सेवाहरु उपलब्ध गराउँदै आएको छ ।
FACEBOOK COMMENTS