काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल (नेपाल–खनाल) पक्षले पार्टीको अधिवेशनको प्रक्रिया र सदस्यता नवीकरण रोक्न माग गरेको छ । आज बिहीबारदेखि शुरु भएको आफ्नो समूहका केन्द्रीय कमिटी सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता नै आफ्नो इच्छा र चाहना भएको बताउँदै यस्तो माग अगाडि सारेका हुन् ।
कार्यदलले गरेको १० बुँदे सहमति अनुसार २ जेठ २०७५ को कमिटी बसेर मात्र अरु प्रक्रिया थाल्नुपर्ने नेपाल समूहको माग छ । त्यसका लागि अहिले पार्टीले अगाडि बढाएको सम्पूर्ण प्रक्रिया स्थगित गर्नुपर्ने उनीहरुको अडान छ ।
नेपाल–खनाल समूहको केन्द्रीय कमिटी बैठकमा सुरेन्द्र पाण्डे र योगेश भट्टराई अनुपस्थित भएका छन् । बुद्धनगरमा जारी बैठकमा नेताद्वय पाण्डे र भट्टराई अनुपस्थित भएका हुन् ।
एमाले एकता कि विभाजनको दबाब बढिरहेको बेला केन्द्रीय सदस्यहरूको राय बुझ्न नेपाल–खनाल समूहले बैठक बोलाएका हुन् । उक्त बैठकमा कन्ट्र्याक्ट ट्रेसिङमा परेको भन्दै दुई नेता अनुपस्थित रहेको जानकारी दिइएको छ ।
बैठकमा ७० जना केन्द्रीय सदस्य उपस्थित रहेको र केही उपत्यकाबाहिर रहेकाले छुटेको दाबी गरिएको छ ।
FACEBOOK COMMENTS