काठमाडौं । जापानबाट कोरोना भाइरसविरुद्धको ५ लाख १३ हजार डोज एस्ट्राजेनेका खोप आज काठमाडौं आइपुगेको छ । जापान सरकारले कोभ्याक्स सुविधा अन्तर्गत नेपाललाई दिने घोषणा गरेको १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये पहिलो खेपमा आज शनिबार ५ लाख १३ हजार डोज खोप काठमाडौं आइपुगेको हो ।
बिहान साढे ९ बजे कतार एयरबाट ती खोप काठमाडौं आइपुगेको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ । खोप ग्रहण गर्नका लागि स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठ, सचिव डा. रोशन पोखरेल लगायतका प्रतिनिधिहरु त्रिभुवन विमानस्थलमा पुगेका थिए । नेपालका लागि जापानी राजदूत नकिकुता युताकाले विमानस्थलमै राज्यमन्त्री श्रेष्ठलाई ती खोप हस्तान्तरण गरेका छन् ।
यसअघि हिजो भुटानले पठाएको २ लाख ३० हजार डोज एस्ट्राजेनेका खोप आएको थियो । सो खोप बागमती प्रदेशमा वितरण गरिसकिएको छ । जापानबाट पुनः आइतबार २ लाख ८७ हजार डोज खोप आउने र बाँकी ८ लाख खोप अर्को साता आइपुग्ने बताइएको छ ।
एस्ट्राजेनेका खोप गत चैतमा कोभिसिल्डको पहिलो डोज लगाई दोस्रो डोज लगाउन नपाएका साढे ९ लाख ज्येष्ठ नागरिक सहित १३ लाख ६८ हजार जनालाई दिइने भएको छ । बाँकी रहेको खोपहरु बैदेशिक रोजगारीमा जानेलाई दिइने बताइएको छ । स्वास्थ्य मन्त्रालयले आगामी २५ साउन देखि नै एस्ट्राजेनेका खोप दिन सुरु गर्ने घोषणा गरेको छ ।
FACEBOOK COMMENTS