काठमाडौं । कोरोना महामारीका कारण विद्यालय डेढ वर्षदेखि बन्द छन् । विद्यालय कहिले खुल्ने हुन्, अझै टुंगो छैन । साढे ३५ हजार विद्यालयमा भौतिक रूपमा उपस्थित भएर पठन–पाठन ठप्पप्रायः छ । कतिपयले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन् ।
विद्यालय र विश्वविद्यालय बन्द हुँदा ८६ लाखभन्दा बढी विद्यार्थीको भविष्य अन्योलग्रस्त छ । विद्यालय स्तरमा ८१ लाख र विश्वविद्यालयमा ५ लाखभन्दा बढी अध्ययनरत छन् । कोरोना महामारीका कारण शिक्षा क्षेत्र सबैभन्दा बढी प्रभावित भएको विज्ञहरू बताउँछन् । २०७६ चैत ११ गते लकडाउन सुरु हुनुभन्दा केही अघिदेखि नै शैक्षिक क्षेत्र बन्द गरिएका थिए ।
पहिलो लहरको संक्रमण कम भएपछि खुल्न थालेका विद्यालय, कलेज दोस्रो लहरसँगै पुनः बन्द भए । पहिलो र दोस्रो लहरको बीचमा करिब ३ महिना शैक्षिक क्षेत्र खुलेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालले जनाएको छ। तेस्रो लहरले ढोका ढकढक्याउँदै छ । यसले अब शैक्षिक संस्था कहिले खुल्ने भन्ने अन्योल कायमै छ । कोरोना संक्रमण नभेटिएका पहाडी जिल्लाका केही स्थानमा फाटफुट मात्रै विद्यालय सञ्चालनमा रहेको शिक्षा तथा मानव विकास स्रोत केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहाल बताउँछन् ।
मुलुकभर ३५ हजार ५ सय २० विद्यालय छन् । तीमध्ये २८ हजार ८ सय ३३ सामुदायिक र ६ हजार ६ सय ८७ संस्थागत छन् । सामुदायिकमा ५५ लाख ८७ हजार ८ सय ८४ र २५ लाख ४४ हजार ५ सय ५१ गरी ८१ लाख ३२ हजार ४ सय ३५ विद्यार्थी रहेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS