काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय र संस्थागत लगानीकर्ताको लागि साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले भदौ १ गतेदेखि लमजुङ जिल्लाका स्थानीयलाई १५ लाख कित्ता र संस्थापक सेयरधनी संस्थाका कर्मचारीलाई ३ लाख कित्ता सेयर निष्काशन गर्न लागेको छ ।
कम्पनीले जिल्लाको मर्स्याङ्दी गाउँपालिका– ३, ६, ७ र ८ का स्थानीयलाई ५ लाख र जिल्लाको अन्य स्थानीयलाई १० लाख कित्ता आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीको उक्त सेयरमा प्रतिकित्ता १०० रुपैयाँ दरले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिनसकिने छ । लगानीकर्ताले पहिलो चरणमा भदौ १५ गतेसम्म आवेदन दिन सक्नेछन् ।
उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा भदौ ३० गतेसम्म आवेदन दिन सकिने छ । स्थानीयका साथै कम्पनीका संस्थापक लगानीकर्ताहरु बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास कम्पनीलाई ३ लाख कित्ता सेयर छुट्याईएको छ । उक्त सेयरमा स्थानीयले जिल्लामा रहेका ग्लोबल आइएमई बैंकको शाखा सिभिल बैंकको भुलभुले शाखा र एनएमबि बैंकको बेशीसहर शाखाबाट आवेदन दिन सकिने छ । संस्थापक लगानीकर्ताले भने न्यादी हाइड्रोपावरको कार्यालय बुद्धनगर तथा ग्लोबल आइएमई क्यापिटलमा आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धक पनि ग्लोबल आईएमई क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS