काठमाडौं । स्वास्थ्य तथा जनासंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड–१९ विरुद्धको खोपमा निजी क्षेत्रलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा राज्यमन्त्री श्रेष्ठले अर्थतन्त्र चलायमान बनाउने निजी क्षेत्रलाई खोपमा प्राथमिकता दिने बताउँदै सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
‘आर्थिक क्रियाकलापमार्फत् अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रलाई हामी प्राथमिकताका साथ खोप उपलब्ध गराउँछौं,’ मन्त्री श्रेष्ठले भने, ‘सरकारले सबै नागरिकलाई निःशुल्क खोप वितरणको अभियानलाई निरन्तरता दिइरहेको छ । हामी उद्योगी व्यवसायीलाई प्राथमिकतामा राखेर अघि बढ्छौं ।’
राज्यमन्त्री श्रेष्ठले नेपाललाई आवश्यक पर्ने खोप खरीदको सम्पूर्ण प्रबन्ध पूरा भइसकेको समेत सो अवसरमा बताएका छन् । अबको डेढ महिनामा १ करोड ३ लाख डोज खोप नेपाल आइपुग्ने र आगामी चैतसम्ममा ५ करोड ५० लाख डोज खोप नेपाल आउने उनको दाबी छ ।
खोप केन्द्रमा भीड नगर्न आग्रह गर्दै मन्त्री श्रेष्ठले भने, ‘बढी घनत्व भएको ठाउँका खोप केन्द्रमा अलि भीडभाड देखिएको छ । अहिले खोप केन्द्र बढाएका छौं, सबैलाई खोप दिन्छौँ । भीडभाड नगरिदिनुहोस् ।’ कोभिड–१९ को तेस्रो लहरको जोखिम बढेको भन्दै उनले त्यसविरुद्ध लड्न डेडिकेटेड अस्पताल र अक्सिजनको समेत व्यवस्थापन गर्न सरकार लागिरहेको बताएका छन् । ‘हामीसँग भएको क्षमताको अधिकतम प्रयोग गर्ने र चुस्त व्यवस्थापनमा काम गर्ने गरी सरकार अघि बढिरहेको छ,’ उनले भने ।
भेटका क्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले उद्योगी व्यवसायीले फ्रन्टलाइनरको रूपमा काम गरेर अर्थतन्त्रलाई चलायमान बनाइरहेको भन्दै देशभरका उद्यमीलाई खोप वितरणमा प्राथमिकता दिन आग्रह गरेका छन् । राजस्वमा करिब ७० प्रतिशतभन्दा धेरै योगदान गर्ने निजी क्षेत्रलाई समयमै खोप उपलब्ध गराइ चलायमान बनाउनेतर्फ सरकारले ध्यान दिनुपर्ने अग्रवालले उल्लेख गरे ।
अध्यक्ष अग्रवालले कोभिडको तेस्रो लहरसँग जुध्न पर्याप्त स्वास्थ्य पूर्वाधारको तयारीमा जुट्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए । उनले सरकार र निजी क्षेत्र मिलेर स्वास्थ्य पूर्वाधार विकासमा काम गर्न सक्ने पनि बताए ।
स्वास्थ्य मन्त्रालयमा भएको भेटमा परिसंघका उपाध्यक्षहरू निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी, राजेशकुमार अग्रवाल, वीरेन्द्रराज पाण्डे र हेमराज ढकाल तथा महानिर्देशक यादवप्रसाद पौड्यालको उपस्थिति थियो ।
FACEBOOK COMMENTS