काठमाडौं । मन्त्रिपरिषदले पूर्णता नपाएको विषयमा सत्तारुढ नेपाली कांग्रेसकै सांसदहरुले प्रश्न उठाएका छन् ।बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै कांग्रेस सांसद गगन थापाले मन्त्रिपरिषद विस्तार हुन नसक्नुको कारण माग गरे ।
‘मन्त्रिपरिषदलाई पूर्णता किन नदिएको ? भित्र घचमच के छ यो जनताले बुझ्दैन’ उनले भने ।नयाँ सरकारले कामबाटै जनतालाई जवाफ दिनुपर्ने भन्दै उनले साझा न्यूनतम कार्यक्रम अनुसार अघि बढ्न सरकारलाई आग्रह गरे ।सांसद थापाले प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले सशस्त्र युद्धका घाइतेहरुलाई उपचार नपाए आफ्नो पार्टी कार्यालयमा आउन गरेको आग्रहप्रति आपत्ति जनाए ।
‘विचराहरु आफ्नै उपचार गर्न त सरकारको ढुकुटीमा गएर हात फैलाउनेले पार्टी कार्यालयमा गए कसरी उपचार गराउला ?’ थापाको ब्याङ्ग्यात्मक प्रश्न छ । सरकारले सबैको कुरा सुनेर अगाडि बढ्नुपर्ने भन्दै थापाले अघिल्लो सरकारले प्रमुख प्रतिपक्षीलाई नसुनेको पनि स्मरण गरे ।
संविधानले दिएको संवैधानिक परिषदको बैठकबाट प्रतिपक्षीलाई आउट गर्ने’ कार्य ओली नेतृत्वको अघिल्लो सरकारले गरेको उनले बताए ।ओली नेतृत्वको सरकारले संवैधानिक परिषदमा अध्यक्षसहित ३ जनाकै उपस्थितिमा संवैधनिक परिषदको बैठक बस्न र निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याएको थियो । त्यस अध्यादेशअनुसार ५० भन्दा बढीले नियुक्ति लिएर अहिले पनि काम गरिरहेका छन् ।तर, अध्यादेश भने देउवा नेतृत्वको सरकारले खारेज गरिसकेको छ ।
FACEBOOK COMMENTS