काठमाडौं । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एक मात्र शैक्षिक संस्था टीबीसीले लुम्बिनी प्रदेशको बुटवलस्थित नमस्ते एकेडेमीको व्यवस्थापन थालेको छ । सन् २०१२ देखि नेपालमा ब्रिटिस डिग्री प्रदान गरिरहेको कलेजको ‘ब्रिटिस एजुकेशन ग्रुप’ले नमस्ते एकेडेमीको पनि व्यवस्थापन थालेको हो ।
स्थापनाकालदेखि नै अग्रगामी ग्लोबल कलेजको रुपमा खडा भएको टीबीसीले ब्यवस्थापनको साझेदारी गरेसँगै शुक्रबार बुटवलस्थित होटेल टुलिपमा भएको एक औपचारिक कार्यक्रममा नमस्तेको शैक्षिक गुणस्तर पनि अन्तर्राष्ट्रिय स्तरको हुने सञ्चालकहरुले बताए । कलेजका संस्थापक राजन कँडेलका अनुसार नमस्ते एकेडेमी पनि ब्रिटिस एजुकेशन ग्रुपमा आएकाले आफूहरु नयाँ यात्राको लागि तयार रहेको बताएका छन् ।
उनले टीबीसीले नमस्तेको व्यवस्थापन जिम्मा लिएसँगै आगामी दिनमा अझै राम्रो शिक्षा प्रदान हुने विश्वास व्यक्त गरेका छन् । टीबीसीमा झण्डै एक दशकदेखि गुणस्तरीय शिक्षा प्रदान गरिरहेको व्यवस्थापन टीमको अनुभव नमस्तेका लागि पनि फलदायी हुने कँडेलको विश्वास छ । यो सहकार्य र सह लगानीले नमस्ते एकेडेमीले विश्वस्तरको प्रोगेशिभ शिक्षा दिने वचन र प्रतिवद्धता पूरा भएको नमस्ते एकेडमीका अध्यक्ष विष्णु भुसालले बताए ।
साथै, उनले यसै शैक्षिकशत्रमा एसईई उत्तीर्ण भएका २५ विद्यार्थीहरुलाई सम्मान गर्दै आगामी दिनको लागि शुभकामना पनि दिए । नमस्तेको व्यवस्थापन द ब्रिटिस कलेजले गर्ने पक्का भएपछि नै जारी शैक्षिक सत्रमा थुप्रै परिवर्तनहरु भएका छन् । लुम्बिनी प्रदेशमा अंग्रेजी माध्यममा अध्यापन गराई उत्कृष्ट शैक्षिक संस्था बनाउने लक्ष्य दिएको व्यवस्थापन टीमले शैक्षिक क्रियाकलापहरु थप उत्कृष्ट बनाउने उद्देश्यले कार्यक्रमहरु थप भएको हो ।
FACEBOOK COMMENTS