विराटनगर । प्रदेश १ को बजेट अधिवेशन अन्त्य गर्ने निर्णय भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चालु बजेट अधिवेशन साउन ३२ गते राती १२ बजेदेखि अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रदेश १ सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले प्रदेश १ को प्रदेशसभाको बजेट अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरिएको जानकारी दिए । चालु अधिवेशनमा प्रदेशको नामाकरण गर्ने सरकारले घोषणा गरेको भए पनि नामाकरणको विषय औपचारिक रुपमा प्रदेशसभामा प्रवेशै नगरी अधिवेशन अन्त्य भएको छ । बजेट अधिवेशन अन्त्य भए पनि चाँडै विशेष अधिवेशन वा अर्को अधिवेशनबाट प्रदेश १ को नाम टुंगो लगाइने सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले आइतबारको प्रदेशसभा बैठकमा बताएका थिए ।
प्रदेश १ को नाम के राख्ने भन्ने विषयमा सत्तारुढ नेकपा एमाले भित्रै एक मत छैन । सत्तारुढ दलका सांसदहरूनै नामका विषयमा विभाजित भएपछि सरकारले नामाकरणको विषय प्रदेश सभामा औपचारिक रुपमा छलफलका लागि लैजान सकेको छैन । एमालेभित्र जातीय पहिचानका आधारमा नामाकरण गर्नु पर्ने आदिवासी जनजाति सांसदहरूको मत छ ।
आदिवासी जनजाति इतरका सांसदहरू भने कुनै पनि हालतमा जातीय आधारमा नामाकरण गर्न हुँदैन भन्ने अडानमा छन् । प्रतिपक्षी दलहरूले प्रदेशको नामाकरणको विषय चाँडो टुंगो लगाउन माग गर्दै आएको आजको नागरिक दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS