एजेन्सी । म्याड्रिड
बहुप्रतिष्ठित स्पेनिस ला लिगा अन्तर्गत दोस्रो चरणको खेल शुक्रबार रातिबाट सुरु भएको छ । दोस्रो चरणको खेलमा रियल बेटिस र क्याडिजले बराबरी खेल्दै अंक बाँडेका छन् । रियल बेटिसको घरेलु मैदान बेनिटो भिल्लामारिन स्टेडियममा भएको खेलमा बेटिस र क्याडिज १–१ गोलको बराबरीमा रोकिए ।
निकै प्रतिस्पर्धात्मक खेलमा दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलमा सुरुवाती अग्रता पाहुना टोली क्याडिजले लियो । ११औं मिनेटमा अल्भारो नेग्रेडोले पेनाल्टीमार्फत गोलको खाता खोले । डिबक्सभित्र बेटिसका गोलरक्षक रुई सिल्भाले क्याडिजका एन्टोनी लोजानोलाई खराव ट्रयाकल गरेपछि क्याडिजले पेनाल्टी पाएको थियो ।
त्यसपछि बेटिसले २२औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्यायो । बेटिसका लागि जुआनमीले बराबरी गोल गरे । उनले इडगर गोन्जालेजको पासमा गोल गरेका थिए । बल पोसेसनमा बेटिस बलियो देखिएको थियो । ७५ प्रतिशत बल पोसेसन राख्न सफल बेटिसले दोस्रो हाफका गोल गर्ने राम्रा अवसर खेर फाल्यो । यता २५ प्रतिशत मात्र बल पोसेसन राखेको क्याडिज आफ्नो डिफेन्सिभ रणनितिमा सफल रह्यो । क्याडिजका मिडफिल्डर थोमस अर्लाकोन ‘म्यान अफ दी म्याच’ भए ।
जारी लिगमा बेटिस र क्याडिजको यो लगातार दोस्रो बराबरी हो । नयाँ सिजनको सुरुवाती खेलमा पनि यी दुबै टोली १–१ गोलको बराबरीमा रोकिएका थिए । पहिलो खेलमा बेटिस मालोर्कासँग बराबरीमा रोकिएको थियो । क्याडिजले घरेलु मैदानमा लिभान्तेसँग एक एक अंक बाँडेको थियो । दोस्रो बराबरीसँगै दुई खेलबाट दुई अंक बनाएको क्याडिज छैटौं स्थानमा छ । समान खेलबाट दुई अंक बटुलेको बेटिस सातौं स्थानमा छ ।
लिग अन्तर्गत शनिबार राति बार्सिलोना र एथलेटिक बिल्बाओबीच प्रतिस्पर्धा हुँदैछ । बिल्बाओको घरेलु मैदानमा हुने खेलमा बार्सिलोना लगातार दोस्रो जित निकाल्ने दाउमा छ । यता पहिलो खेलमा इल्चेसँग गोल रहित बराबरीमा रोकिएको बिल्बाओ घरेलु मैदानमा बलियो बार्सिलोनालाई रोक्ने प्रयासमा हुनेछ । बार्सिलोनाले सिजनको पहिलो खेलमा रियल सोसिडाडलाई ४–२ गोलले हराएको थियो ।
सदाबहार स्टार लियोनल मेस्सीले बार्सिलोना छाडेपछि बार्सिलोनाको प्रदर्शनलाई लिएर चर्चा परिचर्चा भइरहेको छ । मेस्सीबिनै पहिलो खेलमा सानदार नतिजा निकालेको बार्सिलोना दोस्रो खेलमा पनि उही लय समात्ने अभियानमा छ ।
मेस्सी हालैमात्र २१ वर्षे बार्सिलोना बसाई अन्त्य गरेर फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा अनुबन्ध भएका छन् । यद्यपी पीएसजीले लिगमा सुरुवाती तीन खेल जितिसक्दा मेस्सीलाई अझै मैदानमा उतारेको छैन । ला लिगामै शनिबार राति भ्यालेन्सिया र ग्रानाडा, भिल्लारियल र इस्पान्योल तथा मालोर्का र डिर्पोटिभो अलाभेसबीच प्रतिस्पर्धा हुनेछ ।
FACEBOOK COMMENTS