काठमाडौं, ५ भदौ । सरकारले कर्मचारी संचय कोषका प्रमुख प्रशासकमा कार्यरत तुलसी गौतमलाई बर्खास्त गरेको छ ।
मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले गौतमलाई बर्खास्त गरेको हो । २०७६ साल जेठदेखि नै कर्मचारी संचय कोषको प्रमुख प्रशासक बन्न अयोग्य रहेका उनलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. युवराज खतिवडाले कानून विपरित कोषको प्रमुख प्रशासकमा निरन्तरता दिएका थिए ।
उनी कोषको ऐन अनुसार पदमा बस्न नमिल्ने भएकोले गौतमलाई ‘सम्मानजनक वहिर्गमन’को तयारी गर्न अर्थमन्त्री जनार्दन शर्माले आग्रह गरेका थिए । तर, उनले पद छोड्न मानेका थिएनन् ।
मन्त्री शर्माले गौतमलाई मन्त्रालयमै बोलाएर सहज रुपमा हटिदिन आग्रह गरेको बताइएको छ । मन्त्री शर्माको आग्रह लाई उनले अटेर गरेपछि उनी बर्खास्त भएका हुन् ।
कर्मचारी संचय कोष ऐनमा संचयकर्ता नभएको व्यक्ति कोषको प्रशासक हुन नपाउने व्यवस्था भएकोले गौतमलाई हट्नु भनिएको थियो ।
गौतम हिमालयन बैंकको अध्यक्ष पनि हुन् । कोषको प्रमुख प्रशासकको रूपमा उनी बाहिरिएसँगै अब उनको हिमालयन बैंक अध्यक्षको रूपमा रहेको पद पनि जानेछ । कोषबाट बैंकको संचालक समितिमा प्रतिनिधित्व गरेका गौतम बैंकको अध्यक्ष बनेका थिए । अब उनी स्वतः बैैंकको अध्यक्षबाट पनि बाहिरिने भएका हुन् ।
FACEBOOK COMMENTS