काठमाडौं, ५ भदौ । नेपाल सरकारले देशभित्रै भ्याक्सिन उत्पादन गर्ने निर्णय गरे पनि हालसम्म कुनै सुरसार गरेको छैन् ।
सरकारले केही समयअघि कोभिड–१९ महामारीविरुद्ध पार पाउने गरी नेपालमा नै भ्याक्सिन उत्पादन गर्ने निर्णय गरेको थियो । साउनको तेस्रो साता बसेको मन्त्रिपरिषद बैठकले कोरोनाविरुद्धको भ्याक्सिन नेपालमा नै उत्पादन गर्न तयारी गर्ने निर्णय गरिसकेको छ भने साउन २४ गते आएको सरकारको संयुक्त न्यूनतम साझा कार्यक्रममा समेत खोप प्रयोगशाला स्थापना गर्ने उल्लेख गरेर खोप उत्पादनको प्रक्रिया अगाडि बढाएको हो ।
कोरोना भाइरस महामारीसँग जुध्नका लागि सरकारले स्वदेशभित्रै खोप उत्पादन गर्ने तयारी गरेको हो । यसको लागि सरकारले राजपत्रमा सूचना प्रकाशन गरी इच्छुक उद्योगलाई कोभिड–१९ विरुद्धको खोप उत्पादन गर्न आह्वान गरेर प्रक्रिया समेत अगाडि बढाइसकेको छ । सरकारले आफ्नो रणनीतिक योजनाअनुसार खोप उत्पादन गर्ने योजना र नीति लिएको थियो भने त्यसैको आधारमा न्यूनतम साझा कार्यक्रममा समेत समावेश गरिएको थियो ।
जनस्वास्थ्य विज्ञ, महामारी विज्ञ, सरकारी अधिकारीहरू र सरोकारबालाहरूले समेत नेपालमा खोप उत्पादन गर्न सकिने संभावना जनाइसकेका छन् । औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले नेपालमा खोप उत्पादन सम्भव भएकाले सम्भाव्यता अध्ययन थालिएको बताइसकेका छन् । विश्वमा उत्पादन भइरहेको खोप नेपालमा पनि उत्पादन गर्न सम्भव हुने उनको तर्क छ ।
त्यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले पनि नेपालमा मानिसमा लगाउने खोप उत्पादन गर्ने प्रयोगशाला आवश्यक भएर नै सरकारले न्यूनतम साझा कार्यक्रममा खोप प्रयोगशाला स्थापना गर्ने कुरा समेटेको बताएका छन् । त्यसैगरि नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजंग पाण्डेले पनि नेपालमा खोप उत्पादन गर्न सकिने बताइसकेका छन् । उनले कच्चापदार्थ र प्राविधिकहरू बाहिरबाट ल्याउन सकेको खण्डमा स्वदेशमा छोटो अवधिमा नै खोप उत्पादन गर्न सकिने बताएका छन् ।
सरकारी अधिकारीहरूका साथै सरकारको न्यूनतम साझा कार्यक्रममा खोप उत्पादनलाई प्राथमिकतामा राखिए पनि सरकारले हालसम्म त्यस बारेमा कुनै पहल गर्न सकेको छैन् । सरकारले खोप उत्पादनका लागि इच्छुक कम्पनी वा संस्थाहरूलाई समेत सहजीकरण गर्न नसकेको र खोप उत्पादनलाई जोड दिएको छैन् ।
स्वदेशभित्रै खोप उत्पादन गरेको खण्डमा विदेशबाट पटक–पटक खोप आयात गर्न नपर्ने र विदेशी दातृ निकायहरूमा भर पर्नुपर्ने बाध्यताबाट मुक्ति मिल्ने छ । जसले देशको ढुकुटी खोप किन्नका लागि रित्तिने क्रम रोकिने छ । सरकारले खोप उत्पादनलाई प्राथमिकतामा राखेसँगै विदेशी खोप उत्पादक संस्थाहरूले नेपालभित्रै खोप उत्पादन गर्न सहयोग गरिदिने भने पनि सरकारी तवरबाट त्यसमा इच्छुक देखिएका छैनन् । यस्तो बेला भनेको अवसरलाई चुनौतीमा बदल्ने बेला हो ।
सरकारी अधिकारीहरूले खोप उत्पादनका लागि पहल गर्ने र प्रक्रियालाई अगाडि बढाईदिने आश्वासन दिए पनि सरकारीस्तरमा चासो र जिम्मेवारी नलिँदा सो प्रकृया नै अगाडि बढ्न सकेको छैन् । यदि सरकारी स्तरमा राज्यले र यो सरकारले चाहेको खण्डमा ६ महिना भित्रै खोप उत्पादन गराई कोरोनाको खोपमा आत्मनिर्भर हुन सकिने विज्ञहरूको भनाइ छ ।
अचानक राज्यमन्त्री नियुक्त भएका व्यापारिक पृष्ठभूमीका उमेश श्रेष्ठले खोप स्वदेशमा नै उत्पादन गर्नुको साटो महङ्गो मूल्यमा खरीद गर्नेमा नै ध्यान केन्द्रित गरिरहेको मन्त्रालय स्रोतको भनाइ छ । ‘मन्त्रीज्यूलाई खोप खरीदका लागि ल्याइएको हो । त्यसैले खोप उत्पादनमा उहाँको ध्यान छैन् । खोप खरीद गर्दा कमशिन आउँछ । तर स्वदेशमा नै उत्पादन गर्दा कमिशन आउँदैन् ।’ स्रोतको दाबी छ ।
हाल अमेरिकी डलरमा प्रतिडोज खोप किन्दै आएकोमा करोडौं रूपैयाँको चलखेल हुने गरेको बताइएको छ । जसले गर्दा यो सरकारले खोप उत्पादनलाई प्राथमिकतामा राख्न सकेको छैन् । यसले कतै सस्तो लोकप्रियता खोज्नका लागि मात्र सरकारले खोप उत्पादनको विषयलाई समेटेको त होइन भन्ने प्रश्न आम जनमानसमा उब्जिएको छ ।
सरकारले नै खोप उत्पादन गर्न चाहेको अवस्थामा निजी क्षेत्रले समेत सहयोग गर्न तयार रहेको छ । जसमा विदेशबाट प्रविधि भित्र्याउन सहकार्य गर्नुका साथै त्यसमा आवश्यक समन्वय गर्न समेत निजी क्षेत्र तयार छ । जसले गर्दा सरकारले न्यूनतम लागतमा र सहजरूपमा देशभित्र नै खोप उत्पादन गर्न सक्दछ ।
कोभिड १९ को विभिन्न भेरिएन्टहरू देखिने क्रम जारी रहेको अवस्थामा अब वार्षिकरूपमा नै खोप लगाउनुपर्ने बाध्यता हुने विज्ञहरूले बताउँदै आएका छन् भने विकसित देशहरूले त्यसको लागि तयारी समेत गरिसकेका छन् जसलाई बुस्टर डोज भनिन्छ । त्यसैले नेपालले पनि स्वदेशभित्रै खोप उत्पादन गरेर आफ्ना जनतालाई लगाएर बचेको खोप छिमेकी देश भारतका साथसाथै बंगलादेश, पाकिस्तान जस्ता ठूलो जनसंख्या भएका देशहरूमा निर्यात गर्न सकिने र यसले देशको विदेशी मुद्रा आर्जनमा समेत सहयोग पुयाउने देखिन्छ ।
त्यसैले सरकारले यसको लागि बेलैमा पहल लिएर स्वदेशमा नै खोप उत्पादन गर्ने कुरालाई महत्वका साथ लिनुपर्दछ । सरकार र देशका लागि ध्यान केन्द्रित गर्नुपर्ने अवस्थामा राष्ट्रिय स्वार्थको साटो व्यक्तिगत स्वार्थमा केन्द्रित भएको देखिन्छ ।
FACEBOOK COMMENTS