स्वीट्जरल्याण्ड– प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नेपाल सकारात्मक बाटामा अगाडि बढेकाले प्रवासी नेपाली जनतालाई अलमलमा नपर्न र विदेशी मित्रलाई नेपालप्रति पूर्वाग्रही नहुन आग्रह गरेका छन् ।
जेनेभास्थित संयुक्त राष्ट्रसङ्घीय नियोगका लागि स्थायी प्रतिनिधि तथा स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत दीपक धितालले आयोजना गरेको स्वागत समारोहमा सहभागी हुँदै प्रधानमन्त्री ओलीले आगामी चैत १५–१६ मा काठमाडौँमा हुने लगानी सम्मेलनमा सहभागी भई सफल पार्न विदेशी लगानीकर्तालाई आग्रह गरे ।
नेपालले हिंसा समाप्त गरेको, हतियार र लडाकू व्यवस्थापन गरेको, हिंसाको नीति परित्याग गरेको र गणतन्त्रतर्फ गई असाधारण उपलब्धि हासिल गरिसकेको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘‘नेपाली जनताले राजनीतिक अधिकार मात्र नभई आर्थिक तथा सामाजिक अधिकार पनि पाएका छन्, नेपालको संविधान श्रेष्ठ छ, उत्कृष्ट छ र आवश्यकताअनुसार परिमार्जन हुनसक्छ ।’’ उनले मुलुकको आवश्यकता, गन्तव्य तथा नेपाली जनताको अठोटका विषयमा विश्व आर्थिक मञ्चमा जानकारी दिन आफू डाभोस आएको जानकारी पनि दिए ।
प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वागत गर्दै राजदूत दीपक धितालले गतिशील नेतृत्वमा नेपाल अगाडि बढिरहेको र डाभोसमा पनि नेपालले राजनीतिक समस्या समाधान गरी समृद्विको बाटामा हिँड्न चाहेको सन्देश दिएको बताए ।
रासस
FACEBOOK COMMENTS