काठमाडौं, ८ भदौ । लोभ लाग्दोगरी बढिरहेको हाइड्रोपावर कम्पनीहरूको शेयरमूल्य पछिल्लो केही दिनयता अस्वाभाविक रूपमा घटिरहेको छ ।
यसरी शेयरमूल्य घट्नुको एउटै कारण हो, विद्युत् नियमन आयोगले भदौ ३ गते जारी गरेको सनसनीपूर्ण सूचना । हाइड्रोपावर कम्पनीहरूको शेयरमूल्य निरन्तररूपमा बढिरहेको बेला आयोगले विभिन्न १६ वटा बुँदा अध्ययन गरेर मात्रै हाइड्रोपावर कम्पनीको शेयरमा लगानी गर्न अपिल गर्दै सूचना जारी गरेको थियो । सोही सूचनाका आधारमा उक्त दिन नेप्से परिसूचक १८ दशमलव २४ अङ्कले घट्यो । त्यसअघि नेप्सेले दैनिकजसो नयाँ–नयाँ वृद्धि रेकर्ड कायम गर्दै आएको थियो ।
हाइड्रोपावर कम्पनीहरू धमाधम हकप्रद निष्काशन गर्ने तयारीसँगै बढिरहेको बजारका कारण निकै उत्साहित बनेका साना लगानीकर्तामा आयोगको उक्त सूचनाले ठूलो चोट खेपिरहेका छन् ।
आयोगले किन जारी गर्यो त्यस्तो सूचना ?
बढिरहेको समग्र शेयरबजारलाई नै धक्का दिनेगरी जारी भएको सूचना आयोगले किन जारी गर्यो होला भन्ने जिज्ञासा आमरूपमा उठिरहेको छ । उक्त सूचना जारी हुनुमा बजारका ठूला लगानीकर्ता र केही व्यवसायी तथा आयोगकै जिम्मेवार व्यक्तिहरूको हात रहेको बताइएको छ । यसै पनि नेपाली शेयरबजारमा ठूला लगानीकर्ताले सानामाथि थिचोमिचो गर्ने खेल खेल्दै आएका छन् । यसपटक विद्युत् नियमन आयोगलाई उनीहरूले माध्यम बनाएर आफ्नो स्वार्थ पूर्ति गरे ।
त्यसो त समय छउञ्जेल कानमा तेल हालेर बस्ने र शेयरमूल्य माथि आकासिएपछि विभिन्न निर्णय लिने नियामक, चलखेलका लागि विभिन्न शक्ति केन्द्र र नियामक निकायहरू प्रयोग गरेर शेयरको मूल्य घटाएर आफूहरू रातारात मालामाल बन्नका लागि अनेक तिकडम गर्ने नयाँ रोग भने होइन ।
यसरी तिकडमबाज गर्दा साना लगानीकर्ताहरूको रकम ठूला लगानीकर्ताले झ्वाम पार्ने गरेका छन् । धितोपत्र बोर्ड र नेप्सेको चलखेलहरू पनि बाहिर आइरहेका छन् । सेबोन र नेप्सेबाट खेलेका लगानीकर्ता विद्युत् नियमन आयोगतिर पनि आफ्नो प्रभाव पार्न सफल भएका छन् । विद्युत् नियमन आयोगलाई सूचना निकाल्न लगाएर शेयर व्यवसायीहरूले यो सफलता हात पारेको बताइएको छ । उनीहरू ऊर्जामन्त्रीसमक्ष पनि हारगुहार गर्न पुगेका थिए ।
ऊर्जामन्त्रीसँग राम्रै छलफल भए पनि शेयरको मूल्यमा खेल्न आयोगले अब विद्युत् नियमन आयोगका प्रवक्ता डा. रामप्रसाद धितालले जलविद्युत् कम्पनीले हकप्रद सेयर निष्काशन गर्न नपाउने र ऊर्जामन्त्री भुसालले हकप्रदको नाममा लगानीकर्ता फसाउने काम गरेको बताएको भनेर केही मिडियामा अफवाह पनि फैलाइए ।
तर, केही समयपछि नै धितालले मन्त्रालयबाट नभनिएको कुरा भनियो भनेर ‘हप्की’ लगाएपछि धितालले आफ्नो भनाइ फेरे । विद्युत् नियमन आयोगको अध्यक्ष दिल्लीबहादुर सिंह उनकी आमा अस्वस्थ भएर विगत दुई हप्तादेखि सिभिल अस्पतालमा छन् । यस्तो गम्भीर विषयमा छलफलै नगरी धिताललगायतका बोर्ड सदस्यहरूले शेयरको मूल्यमा खेलेको आयोग स्रोतको भनाइ छ ।
के हो हकप्रदको कुरा ?
लामो समयदेखि जलविद्युत् कम्पनीहरूले हकप्रद शेयर निष्काशन गर्ने अनुमति मागिरहेका थिए । तर, आयोगको ऐनमा नै हकप्रद नदिने भन्ने थियो । यद्यपि मागेपछि दिइहाल्छ भन्नेमा व्यवसायीहरू भने ढुक्क थिएनन् ।
तर, बैंकलगायतको ऋण तिर्न र नेपाली जलविद्युत् उत्पादनलाई पूँजीकरण गर्न सहयोग गर्ने नीति अवलम्वन गर्दै जाने नीति सरकारले लिएपछि ह्वात्तै ढेको हाइड्रोपावर कम्पनीको शेयरमा ठूला लगानीकर्ताहरू र प्रोजेक्ट बनाउनेहरूको लोभ बढेको छ ।
यही बेला आयोगका अध्यक्ष पारिवारिक तनावमा परेको मौका छोपी हाइड्रोको शेयरमूल्य घटाउने खेलमा सफलता हासिल गरेको छ । यसमा पनि सम्बन्धित निकायले छानविन गर्नु पर्ने साना लगानीकर्ताहरूको आवाज उठ्न थालेको छ ।
शेयको मूल्यमा अब के हुन्छ ?
साना लागानीकर्ताहरूले अब हाइड्रोपावर कम्पनीको शेयर ‘प्यानिक सेल’ गर्न थाल्ने छन् र बजारमूल्य ओरालो लाग्ने छ । मूल्य सस्तिएपछि चलखेल गर्नेहरूले शेयर उठाउने छन् र बोनसदेखि हकप्रद शेयरसम्मको स्वाद तिनिहरूले नै चाख्ने छन् भने हजार कित्ता किनेर सानो नाफामा रमाउन बसेका लगानीकर्ताहरूलाई ‘टाइ टाइ फिस’ देखाउने स्पष्ट छ ।
यो पनि पढ्नुहोस्–
विद्युत् नियमन आयोगको एउटा सूचनाका कारण शेरबजारमा १८.२४ अङ्कको करेक्सन, अधिकांश उपसूचकहरू राताम्य
FACEBOOK COMMENTS