काठमाडौं, १२ भदौ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डलले अब चाँडै पूर्णता पाउने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले दलहरूमा देखिएको समस्या समाधानसँगै अब सरकार विस्तार गरिने दाबी गरे । सबै दलसँग छलफल गरेर छिट्टै मन्त्रिमण्डल विस्तार गरिने उनको भनाइ छ ।
स्थिर सरकार र दीगो विकासका लागि गठबन्धन दलबाहेक अन्य दललाई पनि सरकारमा सहभागी गराउन कुरा भइरहेको समेत उनले जानकारी दिएका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले समयको महत्व बुझेर सरकारले जनताले अनुभूति गर्ने गरी दीगो विकासका कार्य गर्ने बताए ।
FACEBOOK COMMENTS