काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ महानगरपालिका लगायत उपत्यकाका सडक र चोकमा केही दिनदेखि थुप्रिएको फोहोर छिट्टै व्यवस्थापन हुने बताए । बञ्चरे डाँडामा निर्माणधिन स्यानिटरी ल्याण्डफिल्ड साइट जति सक्दो छिटो सम्पन्न गरेर महानगरलाई हस्तान्तरण गरेको अवस्थामा स्थायी रुपमा फोहोर व्यवस्थापन गर्ने उनको भनाई छ ।
शाक्यले केही दिनदेखि वर्षाका कारण सिसडोल ल्याण्डफिल साइटसम्म जाने बाटो विग्रिएका कारण नियमित रुपमा फोहोर व्यवस्थापनमा केही कठिनाइ भैरहेको जानकारी दिए । ‘सिसडोलसम्म जाने बाटो वर्षाका कारण विग्रिएको छ । बाटोकै कारण फोहोर बोकेर त्यहाँ पुगेका गाडीलाई पनि डोजरले ठेलेर माथिसम्म लैजानुपर्ने अवस्था छ,’ शाक्यले भन्नुभयो, ‘त्यहि कारण केही दिनदेखि पूर्ण रुपमा फहोर उठाउन नसेकको हौँ ।’
उनले छिट्टै फोहोर व्यवस्थापन गरी सफा काठमाडौँ बनाउँने प्रतिवद्धता व्यक्त गरे । ‘वर्षाका कारण विग्रिएको सिसडोलसम्म जाने बाटो बनाउन केही समय लाग्ने भएकाले तत्काल केही दिनका लागि घर वा कार्यालयमा उत्पादन भएको फोहोर जथाभावी सडकमा नमिल्काउन र कुहिने र नकुहिने फोहोर छुट्याएर सकेसम्म सहरलाई दुर्घन्ध कम गर्ने प्रयासमा लाग्न सम्पूर्ण महानगवासीलाई अनुरोध गर्न चाहन्छु,’ उनले भने, ‘अहिलेसम्म हामीले लामो समय फोहोर नथुप्रिने गरी व्यवस्थापन गर्दै आएका थियौँ । अहिले पनि फोहोर व्यवस्थापनका लागि सक्दो प्रयास गरिरहेका छौँ । बाटो मर्मत गरेर फोहोर व्यवस्थापन गर्ने प्रयास निरन्तर जारी राखेका छौँ ।’
प्रमुख शाक्यले फोहोर व्यवस्थापनका लागि सरकारसँग समन्वय भैरहेको जानकारी दिए । ‘नियमित रुपमा जति फोहोर व्यवस्थापन हुनुपर्ने हो त्यो तत्कालका लागि सकिरहेका छैनौँ,’ उहाँले भने, ‘त्यसका लागि हामीले नेपाल सरकारसँग समन्वय गरिरहेका छौँ । मुख्य गरेर हामीले सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालय अन्तरगतको सडक विभागसँग सहकार्य गरिरहेका छौँ ।’
उनले विगतका दिनमा पनि समन्वयमै फोहोर व्यवस्थापन गरिरहेको समेत जानकारी दिए । ‘अहिले पनि समन्वय गरिरहेका छौँ, उहाँहरुबाट सकारात्मक रुपमा सहयोग गर्ने बचन प्राप्त भएको छ,’ शाक्यले भने, ‘मुख्य गरेर सिसडोलसम्म जानका लागि अस्थायी सडक निर्माणका लागि हामीले सडक विभागलाई आग्रह गरेका छौँ । हामी बाटो निर्माणका लागि खर्च गर्न तयार छौँ । तर, त्यहाँको डिजाइन तयार पार्न हामीले सडक विभागलाई आग्रह गरेका हौँ । सहरी विकास मन्त्रालयसँग हामीले पहिलादेखि नै सहकार्यमा थियौँ ।’
अहिले बञ्चरे डाँडा ल्याण्डफिल्ड साइट सहरी विकास मन्त्रालयले बनाइरहेको स्मरण गराउँदै उनले फोहोर व्यवस्थापनको जिम्मेवारी संघीय, प्रदेश र स्थानीय सरकार सबैको भएको बताए । ‘कसैले कसैलाई दोष लगाएर मुक्त हुनुहुँदैन,’ उनले भने, ‘हामी सबैलले समन्वयमा फोहोर व्यवस्थापन गर्नुपर्छ । मुख्य गरेर सहरी विकास मन्त्रालयले बञ्चरे डाँडाको ल्याण्डफिल्ड साइट छिटो भन्दा छिटो निर्माण सम्पन्न गरेर हामीलाई हस्तान्तरण गरेको अवस्थामा हामी व्यवस्थापन गर्न सक्छौँ । उहाँहरुले हस्तान्तरण नगरेसम्म हामी व्यवस्थापन गर्न कठिनाई हुन्छ ।’
महानगरपालिकाले केही दिन अघि कर उठाएनन् भन्दै बजागाजासहित करदाताको घरमा पुगेर कर सचेतनामुलक कार्यक्रम गरेको थियो । फोहोर व्यवस्थापनमा चुकेको महानगरले कर उठाउन भन्दै बजागाजासहित निस्कदाँ धेरैले आलोचना समेत गरेका थिए ।
FACEBOOK COMMENTS