काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना भाइरसविरुद्धको लडाइँ सरकारको प्राथमिकतामा रहेकाले थप एक करोड खोप ल्याउन पहल भइरहेको बताए । त्यसमा ४० लाख मोडर्ना र ६० लाख फाइजर खोप ल्याइने उनले बताए ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६२ औँ वार्षिक कार्यक्रममा उनले प्रसूतिसम्बन्धी एकमात्र सरकारी अस्पताल भएकाले यो अस्पतालको सेवा अझै विस्तार गर्दै लैजानुपर्ने बताए ।
प्रसूति भएका कुनै पनि उमेर समूूहका महिलालाई तुरुन्तै खोप लगाउने व्यवस्था गरिने बताउँदै राज्यमन्त्री श्रेष्ठले प्रसूति अस्पताललाई स्त्रीको स्वास्थ्य हेरचाह तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए । अस्पताललाई सुविधासम्पन्न बनाउन मन्त्रालय लागिपरेको जानकारी उनले गराए ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्रका अस्पतालहरूको विकासका लागि महानगरले सहयोग गर्ने बताए । अस्पताललाई आवश्यक ४० वटा भेन्टिलेटर महानगरले वितरण गरिसकेको जानकारी उनले दिएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS