काठमाडौं, १५ भदौ । टेलिभिजन सेवाप्रदायक डिशहोमले पपुवान्युगिनी (पीएनजी) सँगको एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) सिरिजको प्रत्यक्ष प्रशारण गर्ने भएको छ ।
दुई देशबीच हुने उक्त सिरिजको प्रत्यक्ष प्रशारणका लागि नेपाल क्रिकेट संघ (क्यान) र डिश मिडिया नेटवर्कबीच सम्झौता भएको छ । डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्य र क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहबीच उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।
उक्त सिरिजका दुई वटा खेल आगामी २२ र २५ गते हुँदै छ । क्यान र डिश मिडिया नेटवर्कबीच भएको उक्त सम्झौता अनुसार ओमानमा आयोजना हुने खेलहरु डिशहोमले आफ्नो खेल च्यानल ‘एक्शन स्पोर्टस एचडीवान’ र ‘डिशहोम गो ओटीटी’ एपमार्फत पनि प्रत्यक्ष प्रशारण गरिने भएको छ ।
ओमानमा हुने आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत अमेरिका र ओमानसँग नेपालले खेल्ने छ । त्यसअघि पपुवान्युगिनीसँग खेल्न लागेको हो । सिरिजका लागि नेपाली टिम केहि दिन अगाडी ओमान पुगिसकेको छ भने पीएनजी पनि मंगलबार ओमान पुगेको छ ।
नेपाल क्रिकेट संघको आग्रहमा पीएनजीले नेपालसँग दुई वटा मैत्रीपुर्ण खेल खेल्न स्विकार गरेको थियो । पीएनजीसँगको खेलपछि नेपाली टिमले अमेरीका र ओमानसँग त्रिकोणात्मक सिरिज खेल्ने तालिका छ ।
FACEBOOK COMMENTS