काठमाण्डौँ — उत्पादनमूलक उद्योगको क्षमता उपयोग करिब साढे २ प्रतिशत विन्दुले बढेको एक अध्ययनले देखाएको छ ।
राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययनले अघिल्लो वर्षको तुलनामा गत वर्ष उद्योगहरूको क्षमता उपयोग २.४ प्रतिशत विन्दुले बढेको देखाएको हो ।
प्रतिवेदनका अनुसार आर्थिक वर्ष ०७४/७५ मा उद्योगहरूको औसत क्षमता उपयोग ५९.७ प्रतिशत छ ।
अघिल्लो आर्थिक वर्ष यो ५७.३ प्रतिशत थियो ।
ऊर्जा आपूर्तिमा आएको सुधार, बन्द हडताललगायत आपूर्तिजन्य अवरोधमा कमी, संघीय संरचनाअनुसार तीनै तहको सरकार निर्माण, पुनर्निर्माण कार्यमा आएको तीव्रताले निर्माणजन्य सामग्रीको मागमा भएको वृद्धिलगायत कारण उद्योगको क्षमता उपयोगमा सुधार देखिएको राष्ट्र बैंकले जनाएको छ ।
औद्योगिक उत्पादनमध्ये समूहगत रूपमा अन्न तथा पशुदाना, अन्य खाद्यपदार्थ, पेय पदार्थ, लत्ताकपडा, तयारी कपडा, अन्य रासायनिक पदार्थ, गैरधातु खनिजजन्य तथा बिजुलीको तारको उत्पादनमा वृद्धि भएको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS