काठमाडौं, १९ भदौ । सरकारले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)सँग गरिएको सम्झौताका विवादित विषयमा स्पष्ट हुन चाहेको भन्दै अमेरिकी दूतावासमार्फत एमसीसी कार्यालयलाई पत्र लेखेको छ ।
अर्थ मन्त्रालयले एमसीसीका ११ वटा मुख्य र अरु सहायक बुँदाबारे प्रष्ट पार्न भन्दै पत्र लेखेको हो । एमसीसी इन्डो–प्यासिफिकको हिस्सा भए नभएको, एमसीसीसँग नेपालको सुरक्षा रणनीति जोडिएको वा नजोडिएको, परियोजनाको लेखापरीक्षण हुने ठाउँ तथा एमसीसी सम्झौता नेपालको संविधानभन्दा माथि हो वा होइन, यो पूर्वाधार र उर्जा विकासको लागि मात्रै हो कि होइन, अरु सहयोग र यो सहयोगमा के फरक छ, सम्झौताले नेपालको राष्ट्रिय हित र सार्वभौम सत्तालाई असर पार्छ कि पार्दैन भन्ने विषयमा प्रष्ट पार्न सरकारले भनेको छ ।
एमसीसी उपाध्यक्ष फतिमा सुमार आउँदो बिहीबार नेपाल भ्रमण आउन लागेको बेला सरकारले एमसीसीका विवादित विषयमा प्रष्ट पार्न भन्दै पत्र लेखेको हो ।
नेपालले २०७४ भदौ २९ मा ऊर्जा र सडक पूर्वाधार निर्माण गर्न ५ सय मिलियन अमेरिकी डलर अनुदान पाउने गरी एमसीसीसँग सम्झौता गरेको गरेको थियो । सम्झौताको चार वर्ष पुग्नै लाग्दा पनि सम्झौता कार्यान्वयन नभएको भन्दै अमेरिका असन्तुष्ट छ ।
एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न ढिलाइ हुनु सम्भाव्य लगानीकर्ताका लागि राम्रो सङ्केत नभएको भन्दै अमेरिकाले असन्तुष्टि व्यक्त गरिसकेको छ ।
FACEBOOK COMMENTS