काठमाडौं । भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज मनाइदै छ । आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरमा भित्र्याएर यो पर्व मनाउने चलन रहेको छ ।
कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र प्रयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ । कुशलाई भगवान् विष्णुको प्रतीक मानिन्छ ।
आजको दिनलाई बुबाको मुख हेर्ने दिन पनि भनिन्छ । छोराछोरीहरूले गक्ष अनुसार बुबालाई मन पर्ने मिठाई तथा भोजन खुवाई बुबाको मुख हेर्ने चलन रहेको छ । बुबा नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने चलन रहेको छ ।
आज गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुबाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्ने चलन पनि रहेको छ । यो वर्ष भने कोरोनाका कारण यो क्षेत्रमा प्रवेश निषेध गरिएको छ ।
FACEBOOK COMMENTS