आश्विन ४, काठमाडौँ — एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई ७ अर्ब ८ करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने प्रस्ताव स्वीकार गरेको छ ।
नेपालको विद्युत् प्रसारण लाइन र वितरण प्रणाली विस्तार तथा आधुनिकीकरणका लागि एडीबीले सोमबार उक्त ऋण स्वीकृत गरेको हो ।
नेपालभरका विभिन्न ३४ वटा विद्युत् सबस्टेसन निर्माण तथा मर्मतसम्भार, काठमाडौं उपत्यकामा स्मार्ट मिटर जडान र १ सय ४४ किलोमिटर प्रसारण लाइन विस्तारका लागि नेपालले उक्त ऋण लिएको हो ।
यो ऋणलाई नेपालगन्जदेखि कोहलपुरसम्मको १६ किलोमिटर १३२ केभी प्रसारण लाइन र चोभारदेखि लगनखेलसम्मको प्रसारण लाइन मर्मतसम्भारका लागि पनि खर्च गरिनेछ । दुम्किबास, लगनखेल, मूलपानी र नेपालगन्ज सबस्टेसनबाट थप ४ सय ७७ एम्पियर विद्युत् बहन क्षमताको संरचना तयार पार्ने पनि लक्ष्य राखिएको छ ।
FACEBOOK COMMENTS