काठमाडौं – सामाजिक सञ्जाल फेसबुकका सीईओ मार्क जुकरबर्गले एक झट्कामै करीब १७ अर्ब डलर नेटवर्थ गुमाएका छन् । बुधवार इन्ट्राडे कारोबारमा २ घन्टामै कम्पनीको शेयर मूल्य करीब २४ प्रतिशतले घटेपछि जुकरबर्गले १६ अर्ब ८० करोड डलर गुमाए ।
दोस्रो त्रैमासमा कम्पनीको विक्री अपेक्षाकृत न्यून रहेको र प्रयोगकर्ताको सङ्ख्या वृद्धि पनि अपेक्षाकृत कम रहेपछि शेयर मूल्य घट्न थालेको थियो ।
यस्तैमा कम्पनीका प्रमुख वित्तीय अधिकृत डेभिन वेह्नरले शेयरधनीहरुलाई अघिल्लो त्रैमासका तुलनामा तेस्रो र चौथौं त्रैमासमा कम्पनीको शेयर मूल्य एकल अङ्कमा उच्च प्रतिशतले घट्न सक्छ भनेर बस्नु भनेर भन्ने अभिव्यक्ति दिए ।
अघिल्लो दिन बजार बन्द हुँदा कम्पनीको प्रतिकित्ता शेयर मूल्य २ सय १४ डलर ६७ सेन्ट थियो । तर उनको यस्तो अभिव्यक्तिले आगोमा घ्यूको काम गर्यो र शेयर मूल्य ह्वात्तै घट्यो । बुधवार प्रतिकित्ता शेयर मूल्य २४ प्रतिशतले घट्दा कम्पनीले १ खर्ब ५१ अर्ब डलर बजार पूँजीकरण गुमायो । बजार बन्द हुँदा भने यो कमी केही सुध्रिएर २० प्रतिशतभन्दा तल रहयो ।
बजार बन्द हुँदा कम्पनीको प्रतिकित्ता शेयर मूल्य १ सय ७३ डलर ५० सेन्टमा आएको थियो । सो अवधिमा बजार पूँजीकरणबाट १ खर्ब २६ अर्ब गुमेको थियो । शेयर मूल्य बिहीवार पनि यही दरले घटेमा जुकरबर्गले यस वर्षको अहिलेसम्मको अवधिमा कमाएको सम्पत्ति सबै गुमाउने छन् ।
–एजेन्सी
FACEBOOK COMMENTS