७ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे तथ्यांक सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा कुल वस्तु निर्यात ११५.९ प्रतिशतले वृद्धि भई २० अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८.९ प्रतिशतले वृद्धि भएको थियो ।
गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्पm क्रमशः १६७.० प्रतिशत, ४७.८ प्रतिशत र १७.५ प्रतिशतले निर्यात वृद्धि भएको छ । वस्तुगत आधारमा सोयाविन तेल, पाम तेल, धागो (पोलिष्टर तथा अन्य), जुस, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने अँलैची, आयुर्वेदिक औषधी, जडिबुटी, तार, तयारी छालाका समान लगायतका वस्तुको निर्यात घटेको छ ।
त्यस्तै, आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा कुल वस्तु आयात ७५.७ प्रतिशतले वृद्धि भई १५० अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १९.६ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ५८.७ प्रतिशत, ८७.६ प्रतिशत र १२०.८ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एमएस बिलेट, सुन लगायतका वस्तुको आयात बढेको छ भने रसायनिक मल, सिमेन्ट, सुर्ती, हवाईजहाजका पार्टपुर्जा, तयारी पोषाक लगायतका वस्तुको आयात घटेको छ ।
त्यसैगरि, समीक्षा अवधिमा कञ्चनपुर, मेची र नेपालगञ्ज भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ भने समीक्षा अवधिमा कैलाली भन्सार कार्यालयबाहेकका नाकाबाट भएको आयात वृद्धि भएको छ ।आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा कुल वस्तु व्यापार घाटा ७०.६ प्रतिशतले वृद्धि भई १२९ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २२.२ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा निर्यात–आयात अनुपात १३.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११.२ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट अमेरिकी डलर भुक्तानी गरी १८ अर्ब ८६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ९ अर्ब २६ करोड रुपैयाँ बराबरको यस्तो आयात भएको थियो ।
FACEBOOK COMMENTS