काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो महिना साउनमा सरकारको चालु खाता ४७ अर्ब ९० करोड रुपैयाँले घाटामा रहेको जनाएको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे तथ्यांक सार्वजनिक गर्दै यस्तो जनाएको हो ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा चालु खाता ४७ अर्ब ९० करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २४ अर्ब ८९ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २० करोड ७७ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ४० करोड २४ लाखले घाटामा रहेको छ ।
त्यस्तै, समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३८.० प्रतिशतले कमी आई रु.६७ करोड ९७ लाख रहेकोछ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ६५.५ प्रतिशतले कमी आई ४८ करोड ६ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १ अर्ब १० करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ३९ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ५१ अर्ब ४६ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४२ करोड ९४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३२ करोड ५५ लाखले घाटामा रहेको छ ।
FACEBOOK COMMENTS