काठमाडौं- संसद्को शिक्षा तथा स्वास्थ्य समितिले जापानमा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई कूटनीतिक पहल गरेर पठाउने वातावरण मिलाउन सरकारलाई निर्देशन दिएको छ। समितिमा आइतबार भएको छलफलमा जापानका भाषा स्कूलबाट विद्यार्थी अध्ययनका लागि योग्य भएको सर्टिफिकेट सीओई आएर पनि जापानमा अध्ययनका लागि जान नपाएका करिब १३ हजार नेपाली विद्यार्थीलाई कूटनीतिक पहल गरेर जाने वातावरण मिलाउन सरकारलाई निर्देशन दिएको हो।
यसअघि जापान जाने योग्य भएका विद्यार्थीहरुले यसअघि समितिमा गएर पहल गरिदिन आग्रह पनि गरेका थिए। समिति सभापति जयपुरी घर्तीले विद्यार्थीले पैसा बुझाएर भिसा आएपछि पनि जान नपाएको भन्दै गुनासो गरेकाले उनीहरुलाई पठाउन पहल गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएकी हुन्।
उनले विद्यार्थीले पैसा पनि बुझाइसकेको र सीओई पनि आइसकेकाले अन्य देशका विद्यार्थीलाई जस्तै नेपाली विद्यार्थीलाई पनि पढ्न जाने वातावरण बनाउन पहल गर्नुपर्नेमा जोड दिइन्।
FACEBOOK COMMENTS