काठमाडौं । नेपालले वैदेशिक व्यापारलाई विविधीकरण गर्दै लैजाने बताउँदै आए पनि निकासी पैठारीमा भारतको अंश घट्न सकेको छैन । नेपालका प्रमुख वैदेशिक व्यापार साझेदार मुलुकमध्ये आयातनिर्यातमा भारतकै अंश सबैभन्दा बढी रहेको छ । भारतबाहेक अन्य देशसँग नेपालको वैदेशिक व्यापार खासै उत्साहजनक छैन ।
भन्सार विभागको २०७७-७८ को तथ्यांक हेर्दा यो वर्ष नेपालले कुल १५ खर्ब ३९ अर्ब रुपैयाँको वस्तु आयात ग¥यो भने १ खर्ब ४१ अर्ब रुपैयाँको वस्तु निर्यात गर्यो । प्रमुख १० व्यापार साझेदार मुलुकमध्ये भारतबाट मात्रै ९ खर्ब ७१ अर्ब ६० करोडको आयात भएको देखिन्छ भने निर्यात पनि भारतमै सबैभन्दा बढी भएको छ । गत आवमा १ खर्ब ६३ अर्ब ७ करोडको वस्तु निर्यात भएको देखिन्छ ।
भारतपछि नेपालले बढी आयात गर्ने मुलुक चीन हो । चीनबाट गत आवमा २ खर्ब ३३ अर्ब ८२ करोड बराबरको वस्तु आयात भएको छ । चीनतर्पmको निर्यात भने निकै कमजोर रहेको तथ्यांकले देखाउँछ । उक्त वर्ष १ अर्ब २ करोडको मात्रै चीनमा निर्यात भएको थियो ।
नेपालले बढी वस्तु निर्यात गर्ने मुलुकमा भारतपछि संयुक्त राज्य अमेरिका पर्छ । समीक्षा वर्षमा अमेरिकामा १३ अर्ब ७९ करोडको निर्यात भएको देखिन्छ । नेपालले बढी आयात गर्ने तेस्रो मुलुक अर्जेन्टिना हो । अर्जेन्टिनाबाट नेपालले ४१ अर्ब ९४ करोडको सामान आयात गरेको छ ।
अर्थशास्त्री केशव आचार्यका अनुसार नेपालले पछिल्लो समय व्यापार विविधीकरण गर्नै छाडेको छ । २०१७ सालदेखि सरकारले व्यापार विविधीकरण गर्ने भनेर विभिन्न व्यवस्था गर्यो । त्यतिबेला बनसदर व्यवस्था अर्थात् बनस प्रणाली थियो । जसले धेरै निर्यात गर्छ त्यसले कमाएको पैसाबाट आयात गर्न दिने भन्ने चलन ३०औं वर्षसम्म चलेको आचार्य बताउँछन् ।
२०३४ सालतिर द्वय विनिमयदर प्रणाली भन्ने आएपछि निर्यात गर्नेलाई प्रतिडलरको १६ रुपैयाँको दरले भुक्तानी दिने व्यवस्था गरियो । यो नीति २०४७ सालसम्म रहे पनि त्यसपछि व्यापार विविधीकरण गर्ने कुरा नै हराएको आचार्य बताउँछन् । उनका अनुसार सरकारले अन्तरराष्ट्रिय व्यापार विविधीकरण गर्नुपर्छ भन्ने नीति ठ्याक्कै छाडेको छ । भारत नजिक र खुला सीमाका कारण पनि आयातनिर्यात बढ्न गएको उनको बुझाइ रहेको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS