काठमाडौं । निजीक्षेत्रका दुईओटा कम्पनीको संयुक्त लगानीमा निर्माण हुने केबलकार र होटेल परियोजना तिहारलगत्तै शुरू हुने भएको छ । कोरोना भाइरस (कोभिड–१९) र वर्षायामका कारण रोकिएको ५ अर्बभन्दा बढीको परियोजना निर्माणको तयारीमा आईएमई ग्रूप र शर्मा एन्ड कम्पनी छन् ।
बुटबलको बमघाट ९चिडिया० खोलादेखि पाल्पाको वसन्तपुर डाँडासम्म ३ किलोमीटरको केबलकार र वसन्तपुरमा ५ तारेस्तरको होटेल बनाउन यी दुई कम्पनीले संयुक्त लगानी गर्दै छन् । ५०-५० प्रतिशत लगानी साझेदारीमा निर्माण हुने उक्त परियोजनाको पहिलो चरणमा केबलकार निर्माण गरिनेछ । शर्मा एन्ड कम्पनीका प्रबन्ध निर्देशक (एमडी) रमेश शर्माले तिहारलगत्तै केबलकार निर्माण शुरू गरिने जानकारी दिए ।
केबलकारका लागि आवश्यक डिजाइनहरू पनि केही महीनाअघि आइसकेकाले निर्माणमा जान सकिने उनको भनाइ छ । २०७७ फागुन १ गते केबलकार निर्माणको शिलान्यास गरिएको थियो । चन्द्रागिरि केबलकारकै नमूनामा बुटवल केबलकार र वसन्तपुरमा होटेलमा लगानी गर्ने रणनीति लिइएको छ ।
वसन्तपुर डाँडामा होटेल बनाउन १२५ रोपनी जग्गा किनिएको छ भने नगरपालिकामा जग्गा पासका लागि दर्ता गरिएको छ । केबलकारसँगै वसन्तपुरमा बन्ने होटेल तथा रिसोर्टका लागि यो जग्गा किनिएको हो । यसैगरी बुटवलतर्फ १७ हेक्टर जमीन ४० वर्षका लागि लीजमा लिइएको छ । जग्गा खरीद तथा अन्यमा गरी हालसम्म ३५ करोड खर्च भइसकेको उनको भनाइ छ । पाल्पाको वसन्तपुरमा बन्ने होटेलमा मात्रै यी कम्पनीले साढे ३ अर्ब लगानी गर्ने तयारी गरेको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS