असोज २३ । कोरोना महामारीका कारण विगत डेढ वर्षदेखि बन्द रहेको महोत्तरीको मुख्य भन्सार नाका (भिट्ठामोड) आजदेखि विधिवत रूपमा पुनः सञ्चालन गरिएको छ।
गत वर्ष चैत ११ गतेदेखि बन्द रहेको भन्सार नाका भिट्ठामोड आज अपराह्न ४ बजेपछि सञ्चालन गरिएको मुख्य भन्सार कार्यालयले जनाएको छ ।
दुवै देशको सहमतिपश्चात् भन्सार नाका सञ्चालन भएसँगै आजैदेखि भारतीय चारचक्के गाडी भन्सार कटाएर नेपाल प्रवेश पाउन थालेका छन् भने नेपाली गाडी पनि भारततर्फ जान थालेको भन्सार कार्यालयले जनाएको छ। त्यसैगरी दुईपाङ्ग्रे गाडी पनि दुवैतर्फ निर्वाधरूपमा चल्न थालेका छन्।
भन्सार खुलेसँगै सयौँको सङ्ख्यामा मोटरसाइकल दुवैतर्फ ओहोरदोहोर गरेका छन्। साथै कार, जीपजस्ता चारचक्के सवारी साधन अहिले फाट्टफुट्ट मात्रै प्रवेश गरेका छन्।
लामो समयदेखि जिल्लाको मुख्य भन्सार नाका बन्द रहँदा महोत्तरीवासीलगायत सो नाका भएर भारत जाने धनुषा, सिन्धुलीसहितका व्यक्तिलाई निकै कठिनाइ भोग्नुपरेको थियो।
FACEBOOK COMMENTS