२३ असोज, काठमाडौं । लगानी बोर्डको ४८औं बैठकले आयोजनाका लागि करिब ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बोर्डको बैठकले दुईवटा जलविद्युत् परियोजनको निर्माण तथा विकासका लागि लगानी स्वीकृति तथा पूँजी वृद्धि गर्न स्वीकृति प्रदान गरेको हो ।
लगानी बोर्डको कार्यालयका अनुसार लगानी स्वीकृति हुनेमा दोलखा जिल्लामा अवस्थित ५६ मेगावाट क्षमताको जुमखोला जलविद्युत परियोजनामा करिब साढे १० अर्ब रुपैयाँ छ । त्यस्तै, संखुवासभा जिल्लामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण–३ जलविद्युत परियोजनामा ६२ अर्ब २६ करोड रुपैयाँ बराबरको पूँजीवृद्धि स्वीकृति प्रदान गरिएको छ ।
शनिबारको बैठकले ९ मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत परियोजनामा अध्ययन गर्न भन्दै एक उच्चस्तस्तीय समिति गठन गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा अध्ययन समिति गठन भएको हो ।
समितिमा अर्थ मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत र एक विज्ञ सदस्यसमेत रहेका छन् । लगानी बोर्ड कार्यालयका सहसचिव सदस्य सचिवका रुपमा रहेका छन् । समितिलाई ४५ दिनभित्र सुझावसहितको प्रतिवेदन बोर्डमा पेस गर्न कार्यादेश दिइएको छ ।
लगानी बोर्डको चालु आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत गर्ने, सम्राट सिमेन्ट र माथिल्लो त्रिशुली–१ जलविद्युत परियोजनाको शेयर खरिद बिक्री सम्झौता स्वीकृत गर्ने लगायतका निर्णयसमेत बैठकले गरेको छ ।
बैठकमा अर्थमन्त्री तथा बोर्डका उपाध्यक्ष जनार्दन शर्मा, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमाल, वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेल, मुख्यसचिव शङ्करदास बैरागी, बोर्डका विज्ञ सदस्य हरिभक्त शर्मा, भवानी राणा, राजेशकाजी श्रेष्ठलगायत सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।
बैठकपछि प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत् खपत वृद्धि गर्ने सम्बन्धी दीर्घकालीन योजना तय गर्दै लगानीको वातावरण बनाउन र छिटोछरितो रुपमा कार्यसम्पादन गर्नसमेत निर्देशन दिएका थिए ।
FACEBOOK COMMENTS