काठमाडौं । आज नवरात्रको चौथो दिन । यो दिनमा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरी मनाइने गरिन्छ ।
कुष्माण्डा देवीलाई शुभकर्मको शुभारम्भ वा सृष्टिको प्रतीको रुपमा पूजा गरिने हिन्दु परम्परा रहेको छ । आठ भुजा भएकीले कुष्माण्डा देवीलाई अष्ठभुजा भन्ने गरिन्छ । मन्द हाँसोसहित ब्रह्माण्डको उत्पन्न गरेकाले देवीको नाम कुष्माण्डा रहेको शास्त्रहरुमा उल्लेख छ ।
कुष्माण्डाको अर्थ कुभिण्डो हो । गर्मी मौसममा फल्ने फलको भित्री भाग शीतल हुने भएकाले कुष्माण्डा देवीलाई पनि सांसारीक दुःख कष्ट तथा पीडामा शितलता दिने देवीको रुपमा पूजा आरधना गर्ने प्रचलन रहेको छ । कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीकको रुपमा पूजाआजा आरधना गर्ने चलन छ । यो दिन हिन्दु धर्मापलम्बीहरुले शक्तिपीठ तथा देवी मन्दिरहरूमा कुभिन्डोको विधिपूर्वक पूजा गरी त्यसैको बली चढाउने गर्दछन् ।
नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।
FACEBOOK COMMENTS