काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आज स्पञ्ज आइरन र विलेट आयात गरेर डन्डी उत्पादन गर्ने उद्योगीसँग छलफल गरेका छन् ।
विलेट आयात गरेर स्टील उत्पादन गर्ने उद्योगीहरुले स्पञ्ज आइरन आयातमा सरकारले कर छुट दिँदा विलेट आयातमा भने भन्सार वृद्धि गरेको भन्दै विरोध गर्दै आएका थिए ।
आज मन्त्रालयमा अर्थमन्त्री शर्माले दुबैथरि उद्योगीलाई राखेर छलफल गरेका हुन् । छलफलमा स्पञ्ज आइरनबाट स्टील बनाउने र भारत बाट विलेट ल्याएर स्टील बनाउने उद्योगी सहभागी थिए ।
छलफलका क्रममा अर्थमन्त्री शर्माले उद्योग नबढाउने भए डण्डीमा लगाइएको ३० प्रतिशत अन्तःशुल्क हटाउने प्रस्ताव गरेका थिए ।
‘हामीले उद्योग नबढाउने हो भने तपाईहरु पनि सहमति गर्नुहोस्, हामी पनि छलफल गर्नेछौँ, अब ३० प्रतिशत डण्डीमा अन्त शुल्क लागेको छ, त्यो हटाइदिन्छौँ । डण्डी ल्याऔँ बेचौँ, नाफा जोगाउन पाइहालिन्छ । यो सबैलाई मान्य होला जस्तो मलाई लाग्छ,’ अर्थमन्त्री शर्माले भने, ‘विद्युत खपत कति, भ्याल्यूएशन कति, श्रमिकहरुको अवस्था कस्तो, रोजगारी के र कति हुन्छ सचिवसँग तत्काल छलफल गरेर तपाईहरु एउटा रिपोर्ट बनाउनुस्, त्यसपछि हामी फेरि बसेर छलफल गरौँला भन्दै देशमा उद्योग स्थापनाका लागि प्रोत्साहन गर्न सरकारले सो व्यवस्था गरेको उनको भनाइ रहेको थियो ।
छलफलमा ज्योती समूहका उपाध्यक्ष डा.रुप ज्योतीले प्रतिस्थापन विधेयक डब्लुटिओको सिद्धान्त विपरित भएको बताए । उनले अहिले प्रतिस्थापन विधेयक मार्फत् दिइएको छुटले राष्ट्र र जनतालाई खतरा रहेको समेत जनाए ।
उपाध्यक्ष ज्योतीले भने, ‘डब्लुटिओको सिद्धान्त विपरित कदम चालिएको छ, यसकारण जुन अहिले छुट दिइएको छ, त्यो डब्लुटिओको सिद्धान्त विपरित छुट दिइएको छ । यो राष्ट्रका लागि खतरा छ, छुट दिएको छुट हेरेर लगानी गर्नेहरुको लगानी संकटमा पर्छ ।’
तेस्तै स्पञ्ज आइरनबाट स्टील उत्पादन गर्ने एमएस आइटेक स्टील प्रालिका प्रबन्ध निर्देशक मनोज भट्टराइले पछिल्लो समय स्टील उद्योगहरु स्पञ्ज आइरनबाट विलेट बनाउने उद्योग विस्तारमा लागेको बताए । पहिले ९ वटा उद्योगले स्पञ्ज आइरनबाट विलेट उत्पादन गर्दै आएकामा अहिले त्यो संख्या वृद्धि भएर १४ वटा पुगेको उनले जानकारी दिए ।
विदेशबाट विलेट ल्याएर स्टील बनाएर बिक्री गर्दाभन्दा स्पञ्ज आइरन ल्याएर नेपालमा नै विलेट उत्पादन गर्दा विजुलीको खपत वृद्धि हुने भट्टराईको भनाइ छ । ‘स्पञ्ज आइरनबाट विलेट बनाउँदा ६ देखि ७ रुपैयाँ खपत हुन्छ भने विलेटबाट स्टील बनाउँदा करिब २ रुपैयाँको मात्र विजुली खपत हुन्छ । यसले गर्दा नेपालको पैसा नेपालमा नै रहने अवस्था सिर्जन हुन्छ,’ उनले भने ।
नेपालमा प्रतिवर्ष १६ हजार मेट्रिकटन स्टील खपत हुने गरेको छ । नेपालमा नै स्पञ्ज आइरनबाट १४ हजार मेट्रिक्टन स्टील उत्पादनको क्षमता भएको र केही नयाँ उद्योग पनि आउने क्रममा रहेको भट्टराइले बताए ।
उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का उपाध्यक्ष अञ्जन श्रेष्ठले बिलेटलाई फिनिस्ट प्रोडक्ट जस्तो गरेर विवाद निकालिएकामा चिन्ता व्यक्त गरेका थिए ।
FACEBOOK COMMENTS