काठमाडौं । साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपाल र भारतबीचको खेलमा नेपाल भारतसँग पराजित भएको छ । आइतबार साँझ मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा खेलको पहिलो हाफ दुवै देशले गोलरहित बराबरी खेलेका थिए ।
प्रतिस्पर्धात्मक बनेको खेलको ८२ मिनेटमा सुनिलले गोल गर्दै भारतलाई १- ०को जित दिलाएका हुन् । भारत ३ खेलमा ५ अंक जोडेर तेस्रो स्थानमा छ । नेपालले भने फाइनल पुग्न अर्को खेल कुर्नुपर्ने भएको छ ।
नेपाल ३ खेलमा ६ अंकसहित दोस्रो स्थानमा छ । पहिलो खेलमा माल्दिभ्सलाई १- ० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३-२ ले हराएको थियो ।
नेपाल र भारतबीच अहिलेसम्म २१ पटक प्रतिस्पर्धा भएको छ। जसमा नेपाल २ खेलमा मात्र विजयी भएको छ। ५ खेल बराबरीमा सकिएका छन् भने १४ खेलमा नेपाल पराजित भएको छ।
नेपालले भारतलाई सन् २०१३ देखि हराउन सकेको छैन । सन् २०१३ मा नेपालमा भएको साफमा नेपालले भारतलाई २-१ ले पराजित गरेको थियो । त्यसयता भारतविरुद्ध खेलेका ७ मध्ये नेपाल ५ खेलमा पराजित भएको छ भने २ खेल बराबरीमा सकिएका छन् ।
FACEBOOK COMMENTS