काठमाडौँ। दशैँ बिदा अघिको अन्तिम दिन धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार २३.९ अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचकघटेर दुई हजार ६३९ दशमलव ३८ अंकमा पुगेको छ ।
आज कूल २१९ वटा कम्पनीको ९३ लाख १४ हजार ७ सय ८० कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ६३ करोड ९४ लाख ६८ हजार ९३ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.५६ अंकले घटेर ४९४ दशमलव २२ अंकमा पुगेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहका सेयर उकालो लागेका छन् । अन्य सबैको मुल्यमा गिरावट आएको छ।

आज सर्वाधिक कारोबार भएका कम्पनीहरुमा नबिल बैंक, हिमालयन डिस्ट्रीलरी र महालक्ष्मी विकास बैंक रहेका छन्। त्यसैगरी निफ्रा र नेपाल बैंक समेत सर्वाधिक कारोबार हुने पाँच कम्पनीमा परेका छन्। आज ३३ कम्पनीको शेयर मूल्य बढ्यो भने १४२ कम्पनीको घट्यो। ११ कम्पनीको शेयर मुल्य भने यथावतै रहयो।

यस्तै सरकारले दशैँको लागि भोलि असोज २६ गते फूलपातीको दिनदेखि सार्वजनिक बिदा दिएको छ । त्यसैले, भोलिबाट सेयर बजार पनि बन्द रहनेछ । असोज २६ गतेदेखि असोज ३० गतेसम्म नेप्से बन्द रहने भएको हो ।