काठमाडौं । प्रत्येक बर्ष दशैंको आगमन सँगै आकासमा उडेका चङ्गा र धर्तिमा गाडिएका पिंग देख्दा एक किसीमको रमाईलो अनुभव हुन्छ । त्यो दिनको याद कसलाई आउदैन होला र रु जति बेला लंगुर बुर्जा खेल्दै,ओखर खेल्दै र लिंगे पिंगमा झुम्मिदै चङ्गा उडाएको । हो ,त्यो बालापन आज पनि याद आउँछ दशैंमा लिङ्गे पिंग गाउँघर तिर खेलेको ।
दशैंको परिभाषा फेरिए संगै फेरिएको छ हाम्रो मौलिकता । बर्षमा एक पटक मात्र आउने हामी नेपाली हरुको ठूलो महान चाड दशैंमा नयाँ लुगा लगाउने चलन छ ।त्यतिमात्रै नभई सबै देश विदेशमा छरिएर रहेका आफन्त, साथीभाईहरुसँग भेटघाट हुने तथा वर्षभरि भोगेका तीतामीठा अनुभवहरु साटासाट गरी खानपान गर्ने, उपहारहरु आदान प्रदान गर्ने अमुल्य समय हो हाम्रो दशैं ।
हिन्दुहरुको महान चाँड दशैंमा नौरथा जाने :
नौरथाको महिमाका बारेमा अहिलेका धेरै नयाँ पुस्तालाई लाई थाहा नहुन सक्छ । दशैंको नौ दिन जाने नौरथा नेपालको बिभिन्न क्षेत्रमा रहेको दन्तकाली शक्तिपीठ मन्दिरहरुमा जाने गरिन्छ । नौरथा सबै उमेरका व्यक्तिहरु श्रद्धा र भक्तिका साथ बिहान ४ बजेदेखि जाने गर्दछन् । नौरथा शुरु हुँदा प्रतिपदादेखि दशमीसम्म गइन्छ । त्यसैले पनि , दशैं पर्व मात्र नभई, यो नेपाली सँस्कृतिका रुपमा स्थापित अमुल्य अवसर पनि हो ।
अहिलेको दशैंमा केहि फरकपन देख्न सकिन्छ । बर्षको एक पटक दशैंमा मात्र रमाइलोको लागि खेलिने तास अहिले जताततै जुवाअड्डामा बदनाम भइसकेको छ । नयाँ नयाँ लुगा, निधारमा रातो टिका, कानमा जमरा अहिले पनि छ तर मनमा त्यतिबेलाको जस्तो उल्लास र जाँगर भने अहिले छैन ।
विदेश गएकाहरुले घर फर्किन बिर्सिन थालेका छन् । कतिपय उतै स्थापित भएर दशैं पनि उतै मनाउन थालेका छन् ।उनीहरुको दशैँ मनाएका फोटा सामाजिक संजालमा पोस्ट गरिएका हुन्छन हो त्यहाँ लेखिएको हुन्छ “टिका लगाएर, मासु खाएर मनायौं दशैं “र यही हेरी चित्त बुझाउछन स्वदेशका आफन्त ।
आहा ! त्यो दशैं, आज पनि गाउँघरकै रमाइलो :
गाउँघरकै संस्कार उच्च स्थानमा छ, दशैं आएपछि धान कुटाएर चामल बनाउने, चिउरा कुट्न लाईनमा बस्ने, घोर्ले खसीको होडबाजी चल्ने, रोटे पिङ, लिङ्गे पिङको तयारी गर्ने, गाउँको परिवेश अनुसारको लुगाफाटा सिउने, सिलाउन दिनेको चहलपहल, घरका भित्ता पोत्ने, टाल्ने र आँगनको झार उखेल्ने, सफा गर्नेको भ्याई नभ्याई, वल्लो घर पल्लो घरमा दशैंको चर्चा साथै धान काट्ने र भित्राउने चटारो यसले नै दशैं आएको संकेत दिने ।
पुरानो संस्कार र संस्कृतिलाई जोगाउन सकियो भने मात्रै हो मौलिकता बचाउन सकिने तर अहिलेका युवा पुस्ताले मौलिकता भुल्दै गएका छन् । अहिले दशैं मनाइरहँदा पुरानो संस्कारहरुको संरक्षण हुन नसकेको देख्दा खल्लोपन महसुस हुन्छ । हाम्रा मौलिक परम्परालाई आधुनिकताको नाममा भित्रेका नयाँ चलनले धमिलयाउन थालेको छ ।
जसले गर्दा कतै नेपालीपन हराएको हो कि रु भन्ने प्रश्न उठ्न सक्छ । सहरमा सधै खाइरहने चामलको भात र मासुको स्वादले दशैंको महत्व कम भएको छ । दशैंमा गाउँको मासुभातको स्वादै अर्कै हुन्छ ।
गाउँघरमा दशैंमा सबैभन्दा आर्कषणको केन्द्र भनेको लिङ्गे पिङ हो । बुढापाकाको भनाई अनुसार वर्षमा एकपटक भूई छोड्नुपर्छ जसकालागि लिङ्गे पिङ खल्नै पर्ने संस्कार बसेको अग्रजको मान्यता छ । आज पनि यो चलन जिवितै छ ।
दशैँका आगमनको शुरुआतसँगै खेलिने लिङ्गे पिङ यस वर्ष खासै देखीएनन् ।अघिल्लो बर्ष केहि स्थानमा देख्न सकिने लिङ्गे पिङ नगन्य मात्रामा रहेको छ । विशेषगरी रूखमा डोरी बाँधेर या बाँस गाडेर चोक र टोलमा हालिने यस्ता पिङ नयाँ पुस्ताका लागि अब एकादेशको कथा बन्दै जान थालेको छ ।
त्यसैले मौलिकतालाई बचाउन र लोप हुन् नदिन लिङ्गे पिङको महत्व बुझ्नु पर्ने अहिलेको आवस्यकता हो ।
दशैं सँस्कृतिलाई अतिक्रमण हुन नदिन सबै नेपालीले प्रण गरौं, संकल्प गरौं ।
FACEBOOK COMMENTS