काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा आएको बाढी–पहिरो र डुबानले भएको जनधनको ठूलो क्षतिप्रति गहिरो दुःख प्रकट गरेकी छन् ।
राष्ट्रपतिको कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार प्रकोपपीडितहरूको उद्धार तथा व्यवस्थापन, घाइतेहरूको उपचार, राहत वितरण र बेपत्ता भएकाहरूको खोजीकार्यमा राज्यका संयन्त्रहरूलाई परिचालित गराउने कार्यमा सम्बद्ध निकायको ध्यान पुग्ने विश्वास उनले व्यक्त गरेकी छन् ।
यसैगरी, धानबाली र विविध भौतिक पूर्वाधारको विनाशको सन्दर्भमा राहत, क्षतिपूर्ति र पुनर्निर्माण सम्बन्धमा समन्वयात्मक रूपमा अघि बढ्न राष्ट्रपति भण्डारीको आग्रह गरेकी छन् । राष्ट्रपति भण्डारीले प्राकृतिक प्रकोपबाट उत्पन्न दुःखद अवस्थामा सम्पूर्ण राजनीतिक दल, सामाजिक संघ–संस्था र समुदायलाई आवश्यक समन्वय र सहकार्यसहित पीडितहरूको उद्धार तथा राहतकार्यमा संलग्न हुन आह्वान गरेको विज्ञप्तिमा उल्लेख छ ।
FACEBOOK COMMENTS