काठमाडौं । नेपाल–भारत लिंक रेलवे योजना अघि सारिएको दशकपछि करीब ३५ किलोमीटर (किमी)को जयनगर–कुर्था रेलखण्ड भारत सरकारले नेपाललाई हस्तान्तरण गरेको छ । भारत सरकारले अनुदानमा बनाइदिने भन्दै अघि सारिएका विभिन्न ५ लिंंक रेलवेमध्ये यो खण्ड शुक्रवार हस्तान्तरण गरिएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवलाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले उक्त रेल खण्ड हस्तान्तरण गरेका हुन् । उक्त रेल खण्ड ८ अर्ब ७७ करोडमा निर्माण भएको उल्लेख गरिएको छ । जयनगर–बर्दिवाससम्मको लिंकमध्ये भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको ३५ किमी संरचना हस्तान्तरण गरिएको हो । यो लिंक कुल ६९ किमी छ । यो लिंकमा पर्ने ३४ किमी रेलखण्ड हस्तान्तरण हुनै बाँकी छ । रेल विभागका महानिर्देशक दीपककुमार भट्टराईले यो लिंक रेलवेको एउटा पाटो मात्रै हस्तान्तरण भएको भन्दै ३४ किमीको काम बाँकी रहेको बताए ।
कुर्थादेखि बिजलपुरासम्म १७ किमी र बिजलपुरादेखि बर्दिवाससम्मको १७ किमी हो । दोस्रो खण्डमा निर्माण भइरहेको कुर्थादेखि बिजलपुरासम्मको रेल खण्डको ९० प्रतिशत काम सम्पन्न भएको उनले बताए । भारतीय पक्षले यो वर्षको डिसेम्बरसम्ममा बाँकी १० प्रतिशत काम सम्पन्न गर्ने भनिरहेको उनको भनाइ छ । यसैगरी बिजलपुरदेखि बर्दीवाससम्मको खण्डको बर्दिवास स्टेशनको जग्गाको समस्या २ महीनाअघि समाधान भएको भन्दै उनले अहिले दर निर्धारणको काम भइरहेको बताए । विगत ५ वर्षदेखि यो खण्डमा जग्गामा समस्या हुँदै आएको थियो ।
जग्गाहरूको दर निर्धारण भएसँगै मुआब्जा वितरणको विषयले प्रवेश पाएको छ । दर निर्धारणको कामसँगै बिजलपुरादेखि बर्दिवाससम्मको रेल खण्डको निर्माणले गति लिने उनको भनाइ छ । ‘यो खण्डको जग्गाका विषयमा देखिएको समस्याले उनीहरू हिचकिचाएको अवस्था थियो,’ भट्टराईले भने, ‘अहिले दर निर्धारण भइसकेको पछि हामीले पत्र लेखिसकेका छौं, अब रेलका लागि आवश्यक काम गर्नेछन् ।’ उक्त खण्डको स्टेशन क्षेत्र आसपासको जग्गालाई मुआब्जा दिनमात्रै रू। २ अर्ब ५० करोड आवश्यक पर्ने उनको भनाइ छ । मुआब्जाका लागि रेल विभागसँग केही प्रतिशत रकम भए पनि थप रकम अर्थ मन्त्रालयसँग माग गरिने उनले बताएको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS