एजेन्सी । गाजासम्बन्धी अमेरिकी नीतिको आलोचना गरेपछि संयुक्त राष्ट्रसंघका विशेष विज्ञ फ्रान्चेस्का अल्बानेसेमाथि लगाइएको अमेरिकी प्रतिबन्धप्रति युरोपेली संघले गहिरो खेद व्यक्त गरेको छ ।
युरोपेली संघका प्रवक्ता अनोआर एल अनौनीले भने, “युरोपेली संघ संयुक्त राष्ट्रसंघको मानव अधिकार प्रणालीप्रति पूर्ण समर्थन व्यक्त गर्दछ, र संयुक्त राष्ट्रसंघका विशेष विज्ञ फ्रान्चेस्का अल्बानेसेमाथि प्रतिबन्ध लगाउने अमेरिकी निर्णयप्रति हामी गहिरो खेद व्यक्त गर्दछौं ।”
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बुधबार उक्त प्रतिबन्धको घोषणा गरे । उनले गाजासम्बन्धी अमेरिकी नीतिको आलोचना गरेको आरोप लगाउँदै उक्त निर्णय लिइएको बताए ।
संयुक्त राष्ट्रसंघले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो कदमले अन्तर्राष्ट्रिय अभ्यासमा गम्भीर असर पार्ने खतरा रहेको जनाउँदै उक्त निर्णय पुनरावलोकन गर्न आग्रह गरेको छ ।
संयुक्त राष्ट्रसंघका मानव अधिकार उच्चायुक्त भोल्कर टुर्कले पनि संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय आपराधिक अदालत ९आईसीसी० अन्तर्गत कार्यरत व्यक्तिहरू विरुद्ध हुने व्यक्तिगत आक्रमण तथा धम्की तत्काल रोक्नुपर्नेमा जोड दिए । केही समयअघि अमेरिकाले प्रधानमन्त्री नेतान्याहूविरुद्ध पक्राउ पुर्जी जारी गर्ने विषयमा संलग्न चार आईसीसी न्यायाधीशमाथि पनि प्रतिबन्ध लगाएको थियो ।
इटालीमा जन्मिएकी फ्रान्चेस्का अल्बानेसे सन् २०२२ देखि संयुक्त राष्ट्रसंघका विशेष विज्ञको भूमिकामा कार्यरत छिन् । हालै उनले प्रकाशित गरेको प्रतिवेदनमा केही बहुराष्ट्रिय कम्पनी, विशेषतः अमेरिकी कम्पनी, इजरायलको कब्जा, रंगभेद र गाजामा भइरहेको हिंसाबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ उठाइरहेका छन् भन्ने उल्लेख गरिएको छ ।
उक्त प्रतिवेदनप्रति इजरायलले कडा आपत्ति जनाएको छ भने प्रतिवेदनमा नाम उल्लेख गरिएका केही कम्पनीहरूले पनि असहमति जनाएका छन् ।
FACEBOOK COMMENTS