काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जनतासँग बाचा गरेका कामहरू आगामी पाँच वर्षमा सम्पन्न गर्ने बताएका छन् ।
बिहीबार ढोरपाटन नगरपालिकाका मतदातालाई धन्यावाद दिँदै उनले ५ वर्षमा जनतासँग बाचा गरेका काम सम्पन्न गर्ने बताए ।
यसअघि गर्न नसकेका काम पनि रहेको बताउँदै उनले पहिलेका बाँकी काम र अहिले जनतामाझ गरेका प्रतिबद्धता आगामी पाँच वर्षमा क्रमशः पूरा गर्न पनि अहिलेकै गठबन्धन नेतृत्वमा सरकार आवश्यक रहेको बताए ।
संघ र प्रदेशको सरकार गठबन्धनका बन्ने बताउँदै बागलुङको विकासका लागि गठबन्धनका नेतासँग समन्वय गरी काम गर्ने उनको भनाइ छ ।
‘प्रदेश र संघमा गठबन्धनको सरकार बनाउँछौँ,’ उनले भने, ‘गठबन्धनको सरकार हुँदा जनताका काम गर्न र समन्वय गर्न सजिलो हुन्छ ।’ चुनावपछि जनताको साझा प्रतिनिधि भएको बताउँदै पूर्वाधार विकासमा समान वितरण हुने आश्वासन दिए ।
ढोरपाटन साल्झण्डी सडक, केन्द्रीय प्रसारण लाइन, पक्की पुल, ढोरपाटनको आलुलाई प्रर्बद्धनलगायतका काम जनताको चाहानाअनुसार हुने उनले बताए ।
FACEBOOK COMMENTS