प्रकृतिलाई प्रेम गर्न मैले कहिलेबाट सिकेँ, थाहा छैन । सेता हिमालमा एक्लै बसेर घण्टौं रमाउन कसले सिकायो, त्यो पनि मलाई थाहा छैन । थाहै नपाई प्रकृतिप्रेमी भएको धेरै भइसकेको छ । म हिमालमा पुगेर घण्टौं बात मार्न सक्छु, हिमालको आफ्नै संसार छ जस्तो लाग्छ । जस्तोः मान्छेको कथा हुन्छ, व्यथा हुन्छ, व्यथाभित्र अनगिन्ती सपनाहरू सजिएका हुन्छन्, त्यस्तै हिमालको पनि छुट्टै कथा छ । यही हिमालको मोहले होला, करिब एक सातामा लाङटाङ हिमालको फेदीबाट झरेको केही घण्टामै मेरो यात्रा अन्नपूर्ण बेसक्याम्पको रह्यो, यात्रामा मन फुरूंग बनेको थियो । शरीरमा थकानले बास पाएकै थिएन । खुट्टा दुखिरहेको थियो । तर, हिमाल हेर्दा नथाक्ने मेरो मनसँग खुट्टाको थकान फिका भएर गयो । मन बलियो भएपछि दुखेको ज्यान, गलेको शरीरले केही फरक नपार्दो रहेछ । त्यसैले बिरामी हुँदा डाक्टरले ‘मन बलियो बनाउनुस्, केही हुँदैन’ भनेको त्यसै होइन रहेछ ।
साथीहरू जाने तयारी गरेपछि मैले पनि मनलाई बलियो बनाउँदै अन्नपूर्णको काल्पनिक यात्रामा मिसिने निर्णय गरेँ । जाने तयारीका लागि सम्पूर्ण सामानहरू प्याक भयो । एकातिर थकान थियो, अर्कातिर अन्नपूर्ण हिमालको रोमाञ्चक यात्रा । यदि मापन गर्ने तराजु हुन्थ्यो भने हिमाल यात्राको रमाइलो भारी हुन्थ्यो कि मेरो शरीरको थकाइ ? यस्तै सोचाइमा कतिबेला भुसुक्क निदाएछु, पत्तै पाइएन ।
मोबाइलको अलार्मले बिहानको ४ बजेतिर बिउँझाइदियो । उठेर बिहानको नित्यकर्म सकेर मोटरसाइलमा निस्किएँ । एक दिनको आराम पाएर होला, हिजो दुखेको शरीर झनै चलाउन नसक्ने भएको थियो । खुट्टा दुखिरहेको थियो । मोटरसाइकलमा निस्किँदै गर्दा सोचेँ, ‘कतै बिरामी परियो भने तनाव हुन्छ, साथीहरूलाई पनि यात्रा रमाइलो हुने छैन ।’ फेरि अर्को मनले भन्यो, ‘आ, जे होला त्यही टर्ला !’ कंलकी पुग्दा केही साथीहरू जम्मा हुँदै थिए, केही बाटोमा थिए । ५ बजे सबै जम्मा हुने भएकाले केही पर्खियौं । सबैको सामान लिएर पोखरासम्म बाइकमा लैजान सम्भव थिएन । अत्यावश्यक सामानबाहेक हामीले बाँकी झोलाहरू माइक्रोमा पठाएर हाम्रो यात्राको सुरूआत गर्यौं ।
अनि सुरू भयो हाम्रो यात्राको पहिलो शृंङ्खला…
कंलकीबाट सुरू भएको यात्राबाट कोही साथीहरू अघि, कोही पछि गर्दै गल्छी पुगेर खाजा खाने योजना बन्यो । अघि पुगेका साथीहरू लोकेशन दिन्थे, हामी पुग्थ्यौं । यसरी यात्रा कतै ब्रेक गर्दै, कतै चियाको चुस्की लगाउँदै अघि बढिरह्यो । गल्छीमा पुगेपछि खाजा खानतर्फ लाग्यौं । खाजा खाइसकेपछि हामी आफ्नो गतव्यतर्फ लाग्यौं । १० बजेतिर हामी मुग्लिन पुगेर सामान्य चिया-चुरोट खाएर अघि बढ्यौं । कतै धुलोले लपक्कै हुन्थ्यौं, कतै हिलोले ल्याफ्फै । बाटोमा हिँड्दै गर्दा एक जना साथीको स्कुटी मेरै अघि पछारियो । धन्न चोटको सामना गर्नु परेन ! मुग्लिनबाट पोखरा आइपुग्दा २ बजेको थियो । धुलोले हाम्रो अनुहार हेरिनसक्नु भएको थियो । पोखरा त पुग्यौं तर कंलकीबाट हालेको झोला बोकेको माइक्रोबस आइपुगेको थिएन । भोक लागिरहेको थियो, खाना खान जाँदा माइक्रो छुट्ला भन्ने चिन्ता थियो । नआइपुगुन्जेल कुर्नको विकल्प थिएन । धेरैपछि माइक्रो आयो । झोला लिएर खाना खान पृथ्वी चोकतर्फ लाग्यौं । सिर्जना चोकमा राम्रो थकाली रेष्टुरेन्ट भेट्यौं । धुलोले अनुहारको गति बिग्रिएको थियो । फ्रेश भएर खाना खायौं र केही छिनको आरामपछि नयाँ पुल पुग्यौं । हाम्रो योजना त्यस दिनको रात त्यहीँ बिसाउने थियो । बेलुकाको खाना खाएर पल्टियौं, भोलिको यात्राको दिनगन्ती गर्दै ।
हिमाल यात्राको पहिलो दिन
चिसो एकदम थियो । गम्म लुगा लगाएर हिँड्दा पनि शरीरमा चिसोको कम्पन छुटेको थिएन । बिहान सबेरै सबै उठ्यौं । पोकापन्तरा कस्यौं र बोलेरो रिभर्ज गरी नयाँ पुलबाट झिनुसम्मको यात्रा पार गयौं । करिब १० बजेतिर झिनु पुग्यौं । वास्तवमा हाम्रो हिमाल यात्राको पाइला झिनुबाट सुरूआत हुँदै थियो । हिजो राति देखेको सपना उक्लिँदै गरेको सिँढीले पूरा गर्दै थियो । मन रोमाञ्चक थियो, मेरो शरीर चाहिँ धेरै गलेको थियो । झिनुको उकालो चढ्नुअघि एकछिन विश्राम गर्यौं र झिनुको त्यो उकालो यात्रामा सुस्केरा हाल्दै अघि बढ्यौं, सुस्तरी सुस्तरी । छोमरोङमा पुग्दा घाम अस्ताउने तरखर गर्दै थियो । भोक पनि उल्कै लागेको, बाफरे ! होटेलमा खानाको अर्डर दिएर हामी निस्क्यौं एकछिन बाहिरको दृश्यावलोकन गर्न । भोकले दृश्यावलोकनतर्फ पनि होटेलले कतिबेला भात खान बोलाउँछ भनेर ध्यान दिँदै थिएँ म । खानापछि फेरि उकालो चढ्नु थियो । एकछिन आरामपछि हाम्रो यात्रा पुनः सुरू भयो ।
छोरोङलाबाट करिब आधा घण्टाजति ओरालो खुड्किला पार गरेर फेरि उकालो लाग्यौं । उकालो पनि साह्रै गाह्रो । त्यसमाथि झनै दिउँसोको घामले एक पाइला सार्न पनि गाह्रो भइरहेको थियो । करिब ५ बजेतिर हामी सिनुवा भन्ने ठाउँमा पुग्यौं । सामान अलि गह्रौं भएकाले अलिकति सामान हामीले लोअरे सिनुवामा राख्ने निर्णय गर्यौं, फर्किने बेला त्यही होटेलमा बस्ने योजना गरेर । झोला पनि राख्यौं र मीठो एकएक कप चियाको चुस्की पनि लियौं । सिनुवाबाट माथि उकालो चढ्ने निर्णय गर्यौं । तीन घण्टाजतिको उकालो बाटो उक्लिनुपर्ने थियो । तर, हामीले आाँट गर्यौं । सुनसान जंगल, अन्जान ठाउँ, कीराको क्यारक्यार आवाज मात्र सुुनिन्थ्यो । फेरि मलाई अरू जंगली जनावरको भन्दा पनि मान्छेकै डर मनमा थियो, कतै हामीसँग भएको सामान, पैसा लुट्ने हुन् कि भन्ने । मनको डर अरूलाई भन्न पनि सकिनँ, मनमै राखिरहेँ । झ्नझन् चकमन्न रात पर्दै थियो । हामीसँग भएको बत्तीको चार्ज पनि आधा बाटोमा पुग्दा नपुग्दै सकियो । मोबाइलको टर्च बालेर अघि बढयौं । मनको डरलाई मनको बाघसँग खाँदै हामी करिब ६:३० बजेतिर क्याम्प पुग्यौं ।
अहो ! क्याम्पको संसार
क्याम्पको संसार हामीले सोचेको भन्दा फरक थियो । पानी यति चिसो थियो कि कुरै नगरौं । लागेको मुखको धुलो पनि धुन नसकिने । एकछिन फ्रेश भई खाना खायौं । साथीहरूको क्याम्पमा तास खेल्नुपर्ने अडानले एकिछन खेलियो । करिब ११ बजेतिर सुत्न ओछ्यानमा पुग्यौं । यति जाडो थियो कि दुईवटा सिरक ओढे पनि ज्यानमा कहाँबाट चिसो पस्थ्यो पत्तै नहुने । बिहान हामी झिसमिसेमै ४ बजेतिर बाटो लाग्यौं । उकालो बाटो भएकाले घाममा खासै हिँड्न नसकिने हुँदा बिहानै उकालो लाग्यौं । बिहानको शीतको थोपासँगै हाम्रा यात्राहरू पनि अघि बढे । जसरी शीतले रातभरिको तिर्खालाई मेट्छ, त्यसैगरी हाम्रो हिमाल हेर्ने तिर्खालाई पनि बिहानीको मौसमले मेट्दै थियो । अहो, त्यो उकालीपछिको रोमाञ्चकारिता कसरी बयान गरूँ ! सेता देखिएका हिमाल थिएनन्, स्वर्ग थिए । मोतीका दानाझैं टल्किएका हिमालले मलाई एकिछन अवाक बनायो । उदाउँदै गरेको घामले हिमाललाई टीका लगाइदिएजस्तै देखिन्थ्यो । जति हेरे पनि नपुग्ने त्यो सुन्दर अनुहारको बयान कसरी गरूँ ! नवयौवनले मात्तिएको युवाले एकान्तमा सुन्दरी भेटिएजस्तै हिमाल हेरेर म त्यसै हिमालको यौवनले मात्तिएको थिएँ । हिमालतिर हेर्दै म एकछिन मेरो देशको कल्पनामा रमाएँ र मनमनै भनेँ, ‘देश मेरो स्वर्ग हो’ ।
त्यो सिंहदरबार यस्ता स्वर्गलाई कहिले चिन्छ होला ? विदेशमा भए यी हिमालको मूल्य हाम्रा लागि कति हुन्थे होलान् ? तर पनि हामी गरिब छौं । गरिबलाई दिएका सुन्दर उपहारलाई पनि कुरूप बनाउँदैछौं । मलाई लाग्छ, कमसेकम पाएको उपहारलाई माया गरौं, जतन गरौं ! हिमाललाई हुन दिऔं, चम्किन दिऔं, सिताराले भरिन दिऔं !
हिमालको दृश्यबाट ध्यान हटाउँदा शरीर चिसो भइसकेछ, अहो, म हिमालको सपनाबाट बिउँझिएपछि हिमालतिरकै जडीबुटीको चिया खाएपछि बल्ल ज्यान तातेको महसुस भयो । हिमालको वरिपरि हामीले मनमोहक फोटोलाई सम्झनामा उतार्यौं । त्यसपछि देउरालीतर्फ लाग्यौं । जाति माथि जाँदै थियौं, त्यति नै गाह्रो हुुँदै गइरहेको थियो । कस्तो स्याँस्याँ बढेको हो ! हामी करिब ११ बजेतिर देउराली पुग्यौं । त्यहाँ नमस्तेको नेटवर्क राम्रोसँग लाग्ने रहेछ । एक पटक घरतिर सबैलाई सम्झिएँ, हालखबर सोधेँ । करिब १२ बजेतिर खाना खाएपछि हाम्रो गन्तव्य अन्नपूर्ण बेसक्याम्पमा पुग्ने थियो, त्यसैले हामीले यात्रालाई पुनः निरन्तरता दियौं । यात्राको रफ्तार यति छिटो भएछ कि के भनौं, ४ बजेतिर माछापुच्छ्रे बेसक्याम्प पुग्यौं । अरूले भन्दै थिए, तपाईंहरूको रफ्तारमा हिँड्न नसकिने रहेछ । माछापुच्छ्रेबाट करिब साढे एक घण्टापछि अन्नपूर्ण बेसक्याम्प आउँछ । माछापुच्छ्रेबाट माथि नजान हामीलाई धेरै जना मान्छेले सुझाए । ‘लू’ लाग्ने धेरै सम्भावना हुने रहेछ । त्यसपछि हामी त्यस रात माछापुच्छ्रे बेसक्याम्पमै बस्ने निर्णयमा पुग्यौं । केही साथीहरू भने त्यही दिन माथि पुग्न हत्ते गरिरहेका थिए । तर, मलाई चाहिँ माछापुच्छ्रे बेसक्याम्पमै एक रात बिताएर माथि उक्लिने रहर मनमा थियो । बिरानो ठाउँ, प्रकृतिसँग जोखिम मोल्न आँट गरेनौं ।
साथीहरूसँग लामो बहसपछि अन्तिम फैसला मेरै भयो, त्यो दिन क्याम्पमै बस्ने । बिहान हामी ३:३० बजे नै हिँड्न सुरू गर्यौं । घाम उदाउनुभन्दा अगाडि हामी ५:३० बजे पुग्यौं, मैले त अहिलेसम्म त्यसरी हिमाल आफ्नै आँखा अगाडि देखेको थिइनँ । वरिपरि मार्दी र अन्नपूर्णले धपक्कै बलेका सबै हिमालहरू सेताम्मे भएका थिए, स्वर्ग यही हो लागिरह्यो । अब उकालोको यात्रालाई बिट मार्दै पुनः ओरालो झर्नु थियो । उकालो चढ्नेहरू ओरालो झरेपछि मात्र गतन्व्यमा पुग्छन् । उकालोको कुनै गन्तव्य हुँदै ओरालो एउटा बिन्दु हुन्छ । माछापुच्छ्रे बेसक्याम्पमा बिहानको ब्रेकफास्ट खाई ओरालो भर्यौं । हाम्रो उद्देश्य लोआर सिनुवासम्म पुग्ने थियो । अहो, साँझ परिसकेको थियो ! अँध्यारोले हामीलाई छोप्यो । हिमालका ती सेता दृश्यहरू पनि छायाजस्तै भए । हामी एक्ला भयौं । अहो, त्यो चकमन्नता ! साथीको खुट्टा ओरालो झर्ने क्रममा फर्कियो । उसका सामानहरू पनि हाम्रामा थपिए । एकै ज्यान भारी भएको समयमा हाम्रा लागि अर्को ज्यान थपिएको थियो । बत्तीको सहारामा हामीले पाइला अघि बढायौं ।
जंगलको बाटो, त्यसमाथि हिँड्न नसक्ने साथी । बिस्तारै कछुवाको गतिमा हिडिरह्यौं । बाटो आधा उकालो छ, भर्याङ गन्दै हिँडिरहेको छ । बल्लतल्ल डेढ घण्टाजतिमा उकालो सकियो । पूरै रात परिसकेको छ । मोबाइलको बत्तीले बाटो हेर्दै हिँडिरहेका थियौं । एक घण्टाको बाटो दुई घण्टाजति हिँडेपछि बल्लतल्ल अपर सिनुवा आयो । अन्य साथीहरू त्यहीँ हामीलाई कुरिरहेका थिए । हाम्रो होटेल चाहिँ अलि तल लोअर सिनुवामा थियो । करिब २० मिनेटजतिमा हामी बस्ने होटेल पुग्यौं । साह्रै थकाइ लागेको अनि त्यसमाथि भोक पनि यति लागेको थियो कि मैले त रातिको थुक्पा दुई कचौरा खाएछु । साथीहरू सबै गलेका थिए । कसैका खुट्टा खिइएका थिए । हामी अब दृश्यको संसारबाट तल झर्दै थियौं । पुरानो बाटो तर हिमालको काखको न्यानो माया बोकेर हामी झर्यौं । ओरालोमा मनमा धेरै कुराहरू खेलिरहे । देशमा पर्यटनको यतिका सम्भावना छ, हिमाल नै मात्र देखाए पनि देश धनी हुन्थ्यो होला । हामीसँग प्रकृति छ तर प्रकृतिलाई चिन्ने/चिनाउने कला छैन कि जस्तो लाग्ने । एक मनले सोचेँ, ‘हिमालको प्रचारप्रसारमा लागौं, सरकारलाई झकझक्याऊँ ।’ हिँड्दा विदेशी पर्यटकले पाएको हैरानी झनै टिठलाग्दो छ । मनलाग्दी असुली र यातयातको सिन्डिकेटले आएका कतिपय पर्यटकहरूको मन कुँडिएको छ । लाखौं तिरेर आएका ती पर्यकटको हामीले फाइदाको नाममा मन दुखाइदिएका छौं । त्यसको व्यवस्थापन राज्यले किन गर्न सक्दैन ? यी र यस्ता विचार केलाउँदै ओरोलो यात्रा छिचोलियो । पोखरा आएपछि हामी पुनः राखिएका बाइकहरू समाउँदै काठमाडौं फर्कियौं । फर्किँदा जाँदाजस्तो जोश छैन, शक्ति घटेको छ । तर, मनमा ती चम्किला हिमाल सजिएका छन् ।
FACEBOOK COMMENTS