काठमाडौं । नागार्जुन नगरपालिका सशस्त्र प्रहरीको मुख्यालयसँगै रहेको आकाश भैरव मन्दिरबाट चोरी भएको मूर्तिको खोजी गरी पत्ता लगाउन संरक्षण महाअभियानले माग गरेको छ ।
सम्पदा संरक्षण महाअभियानले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चोरी भएको मूर्तिको खोजी गरी तत्काल पुनःस्थापना गर्न माग गरेको हो । काठमाडौं जस्तो शहरमा दिनदाहाडै मूर्ति चोरी हुनु हास्यास्पद रहेको सम्पदा संरक्षण महाअभियान अभियन्ता यादव लाल कायस्थले बताएका छन् ।
उनले देशकै असाधरण सम्पत्ति चोरी हुँदा समेत सरोकारवाला निकाय चुप लागेर बस्न नहुने बताए । भगवानको मूर्ति चोरहरुलाई पनि कारबाही नभएपछि झन् चोर्न सजिलो भएको भएको भन्दै उनले भने, ‘हामीले पूजा गर्ने भगवानकै मूर्ति चोर्दा त कसैलाई पक्राउ गर्न नसक्ने सरकारले अरु चोरलाई के गर्न सक्छ ? समाजमा यस्ता अपराध कति बढ्दै जाला ।’ नेपालबाट चोरेको मूर्तिहरु अमेरिका र लन्डन पुग्ने गरेको उनको भनाइ छ ।
‘एक बट्टा अचार समातिने विमानस्थलमा ठूला–ठूला मूर्ति कसरी छिरे ?’ उनले प्रश्न गरे । त्रिपुरासुन्दरी मन्दिरमा चोरी भएको मूर्तिको अवस्था आजका दिनसम्म कु्नै जानकारी नभएको उनले बताए । मूर्ति खोज्ने क्रममा छैटौ शताब्दीमा निर्माण भएको ब्रह्मा भगवानको मूर्ति गौशाला प्रहरी कार्यालयमा फेला परेको उनले बताए ।
उनले भने, ‘प्रहरी कार्यालयमा फोहोर राख्ने ठाउँमा अत्यन्तै दयनिय अवस्थामा ब्रह्माको मूर्ति फालिएको छ, ब्रह्माको मूर्ति पुनः स्थापना गरियोस् ।’
कार्यक्रममा गुठियार सागर पुतुवारले भगवानको मूर्ति चोरी भएकोमा दुःख लागेको बताउँदै तीन जना चोरहरु आएर मन्दिरको पुजारीलाई डर र मार्ने धम्की दिएर मुर्ति चोरी गरेको दाबी गरे । ‘पुजारीलाई मार्छु, काट्छु भनेर उहाँकै अगाडी तीन जना चोरेर आकाश भैरवको मुर्ति लगे,’ पतुवारले भने ।
त्यस्तै गुठियार पुरुषोत्तम महर्जनले हिरण्य कस्यपु र विष्णुभक्त प्रल्हादको कथा सुनाउँदै मूर्ति चोरेर विदेश पठाउन नसकेपछि चोरहरुले यत्रतत्र फाल्ने गरेको बताए । कार्यक्रममा गुठियार रघुराजराज भण्डारीले सांस्कृतिक सम्पदा र मौलिक संस्कृतिसँग गुठी पनि जोडिएको बताए । नेपाललाई चिनाउने नै सांस्कृतिक सम्पदा भएको भन्दै उनले सम्पदाको संरक्षणमा सबै जुट्नु पर्नेमा उनको जोड छ ।
नेपालीको आस्था र भरोसासँग जोडिएको सांस्कृति सम्पदा हराएकोमा उनले आपत्ति जनाए । नेपालको अमुल्य निधि हराउनुको कारण अब खोज्नुपर्ने दिन आएको बताउँदै उनले भने, ‘यो फ्याक्टरले नेपालको पहिचान बनाएको संस्कृति नै हराउँदै गएको छ ।’
त्यसरैगरी अधिवक्ता जुजुकाजी महर्जनले सांस्कृतिक सम्पदाले भरिपूर्ण देश नेपालमा मुर्ति चोरी हुनु अत्यन्तै लाजमर्दो भएको बताए । महर्जनले मूर्ति चोरीमा सम्लग्नलाई खोजी गरी कारबाही गर्न सरकारसँग माग गरे ।
FACEBOOK COMMENTS